सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको नयाँ भवनबाट सेवा सञ्चालन गर्ने सर्वदलीय निर्णय : निमित्त मेसु डा.झा

मिति: २०२६-१०-०१ , समय : २१:२४:०३ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जितकुमार झाले सर्वदलीय बैठकका निर्णय सार्वजनिक गरेका छन् ।
मे.सु.झाले बिहीवार पत्रकार सम्मेलन मार्फत अस्पतालको नयाँ भवनबाट सेवा सञ्चालन गर्ने क्रममा देखिएका प्रशासनिक तथा व्यावहारिक समस्या समाधानका लागि राजनीतिक दल, स्थानीय संघसंस्था तथा नागरिक समाजबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता बैठकले गर्ने जनाएको छ ।
बैठकले अस्पतालको प्रशासनिक शुद्वता र जनउत्तरदायित्व सुरक्षित गर्न सहायक प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा कर्मचारी ब्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने प्रस्ताव गरेको छ । सो समितिमा गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख सदस्य सचिव,सदस्यहरुमा राजविराज नगरपालिका,जिल्ला प्रहरी कार्यालय,सरकारी वकिल कार्यालय,कोष तथा लेखा नियन्त्रक कार्यालय,नागरिक समाज,रामराजप्रसाद सिहंस्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार विकास समिति,प्रमुख स्वास्थ्य कार्यालय सदस्य रहने प्रस्ताव गरेको छ ।
समितिले अस्पतालमा विगतमा नियुक्त भएका तथा हाल कार्यरत करार र ज्यालादारी कर्मचारीको नियुक्ति प्रक्रिया र कार्यदक्षता मूल्याङ्कन गर्ने, मापदण्डका आधारमा मात्र करार म्याद थपका लागि सिफारिस गर्ने तथा भर्ना र व्यवस्थापन प्रक्रियालाई पारदर्शी र जनमुखी बनाउने जिम्मेवारी दिने मेसु झाले बताउनु भयो ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी र अस्पतालबीच भएको सम्झौताको पुनरावलोकन तथा नवीकरण गर्ने विषय पनि प्रस्तावमा समेटिएको छ।अस्पताल परिसरमा फार्मेसी सेवा सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको छ। प्रचलित नियमको पालना, सेवा व्यवस्थापनमा एकरूपता तथा बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको सर्वदलिय निर्णय भएको उहाँले बताउनु भयो ।
अस्पतालको सरसफाइ सेवा प्रभावकारी नभएको विषयलाई पनि प्रस्तावमा प्रमुखताका साथ उठाइएको छ। सरसफाइ कर्मचारीको नियमित उपस्थितिमा समस्या तथा जिम्मेवारी पूरा नगर्ने अवस्थाले अस्पतालको स्वच्छता र स्वास्थ्य सेवाको गुणस्तरमा असर परेको उल्लेख गर्दै दीर्घकालीन समाधान खोज्नुपर्ने निष्कर्ष निकालिने जानकारी दिनु भयो ।उहाँले भन्नु भयो ठेकेदार वा सेवा प्रदायक संस्थामार्फत अस्पतालको सरसफाइ सेवा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। सेवा प्रदायक छनोट गर्दा अस्पतालको हित, आर्थिक पारदर्शिता र गुणस्तरीय सेवाको मापदण्डलाई प्राथमिकतामा राख्ने तथा आवश्यक टेन्डर÷कोटेसन प्रक्रिया तत्काल अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिने प्रस्ताव गरिएको जानकारी दिएका थिए।
बैठकले जातीय विभेद तथा चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको विषयलाई समेत गम्भीरतापूर्वक लिएको जनाएको छ । केही दिनअघि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा एक चिकित्सकलाई लक्षित गरी ज्यान मार्ने तथा परिवारका सदस्य र बालबालिकासमेतलाई असर पार्ने किसिमका धम्की सार्वजनिक भएको विषयमा बैठकको ध्यानाकर्षण भएको जनाइएको छ ।
स्वास्थ्य सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभेद, धाक,धम्की वा आपराधिक गतिविधिले कानुनी शासन, मानवअधिकार र सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न बैठकले जोड दिएको छ ।
सम्बन्धित चिकित्सकले अस्पताल प्रशासन, नेपाल प्रहरी तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका निकायमा लिखित निवेदन दिएको भए पनि घटनामा प्रभावकारी कानुनी प्रक्रिया अघि नबढेको विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ । चिकित्सकले दिएको अन्तर्वार्ता मार्फत थप तथ्य बाहिर आएको अवस्थामा अस्पताल प्रशासनले आवश्यक कानुनी प्रक्रिया अघि बढाई सम्बन्धित स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउन बैठकले सिफारिस गरेको छ ।
त्यस्तै, अस्पताल सञ्चालनका क्रममा देखिएका प्रशासनिक तथा व्यावहारिक समस्या समाधानका लागि सबै राजनीतिक दल, स्थानीय संघसंस्था तथा नागरिक समाजको सहयोग र समन्वय आवश्यक रहेको बैठकले जनाएको छ ।

प्रकाशित मिति: २०२६-१०-०१ , समय : २१:२४:०३ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित