सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै मिथिलान्चलमा जितिया व्रत शुरु
मिति: २०२६-१०-०२ , समय : १६:५४:१६ , गामघर डेस्क
मिति: २०२६-१०-०२ , समय : १६:५४:१६ , गामघर डेस्क
तस्बिर : रमिला शाहकाे सहयोगमा
गामघर डेस्क
काठमाण्डौ । सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै तराई–मधेशमा जितिया व्रत शुरु भएको छ ।
विशेषगरी आमाहरूले मनाउने यो कठोर व्रतमा व्रतालु महिलाले नदी, पोखरी तथा जलाशयमा स्नान गरी पितृ र जिमुतवाहन देवताको पूजा गर्दै व्रतको सङ्कल्प लिने गर्छन् ।
परम्पराअनुसार व्रतको अघिल्लो दिन महिलाले घरआँगन लिपपोत गरी चोखो बनाउने तथा पिना, तेल, घिरौलाको पात, जियलको पात र बाँसको पातसहित आवश्यक सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ । स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिमुतवाहन देवतालाई पिना र तेल चढाउने गरिन्छ ।
व्रतको मुख्य दिन व्रतालु महिलाले बिहानै स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर निराहार व्रत बस्ने गर्छन् । यस क्रममा दिवङ्गत हजुरआमा, सासूआमालगायत तीन पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने तथा प्रसादी चढाउने परम्परा रहेको छ । जितियालाई कतिपय स्थानमा षोडश मातृका श्राद्धका रूपमा समेत लिने गरिएको छ ।
व्रतअघि बेलुकी व्रतालुले विभिन्न परिकार, दही, मिठाइ, माछा तथा कोदोको रोटी खाने चलन छ । मुख्य व्रतका क्रममा पूजा सामग्रीसहितको डाली तयार गरी पूजा गर्ने र व्रतको समय पूरा भएपछि परिवारका सदस्यले डाली खोलेर प्रसादी बाँड्ने परम्परा छ । त्यसपछि मात्र व्रतालुले पानी तथा अन्य खानेकुरा खाने गर्छन् ।

जितिया व्रत थारू समुदायसहित तराई–मधेशका विभिन्न समुदायका महिलाले पुस्तौँदेखि मनाउँदै आएका छन् । सन्तानप्रतिको माया, पारिवारिक सद्भाव र धार्मिक आस्थासँग जोडिएको यो व्रत महिलाको सामूहिक भेटघाट तथा सांस्कृतिक प्रतिभा प्रस्तुत गर्ने अवसरका रूपमा समेत विकसित हुँदै गएको छ ।
जितियाका अवसरमा महिला समूहमा गीत, कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने चलनसमेत बढेको छ ।
साथै, जियल, बाँस र घिरौलाका पात पूजामा प्रयोग हुने भएकाले प्रकृति तथा वातावरण संरक्षणको सन्देशसमेत यस पर्वले दिने गरेको स्थानीयको भनाइ । उज्यालो
प्रकाशित मिति: २०२६-१०-०२ , समय : १६:५४:१६ , 1 hour अगाडि