जनकपुर–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने
मिति: २०२६-११-१५ , समय : ०८:३१:१६ , गामघर डेस्क
मिति: २०२६-११-१५ , समय : ०८:३१:१६ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
जनकपुरधाम । नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ । भारतीय रेल मन्त्रालयले दुई देशका प्रमुख धार्मिक स्थललाई जोड्ने रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको हो ।भारतीय रेल मन्त्रालयले शनिबार आधिकारिक विज्ञप्ति जारी गर्दै सीमापार सम्पर्क विस्तार, धार्मिक पर्यटन प्रवर्द्धन र नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने उद्देश्यले रेल सेवा सञ्चालन गर्न लागिएको जनाएको छ।
यो रेल सेवाले माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रूपमा जोड्नेछ। यसबाट दुवै देशका तीर्थयात्री तथा पर्यटकलाई धार्मिक स्थलको भ्रमण गर्न सहज हुने मन्त्रालयको विश्वास छ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेल जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टोनमेन्ट (अयोध्या क्यान्ट) स्टेशनसम्म सञ्चालन हुनेछ।भारतको बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै गुड्ने रेलको व्यावसायिक बिसौनी जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा रहनेछ।मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ।
प्रकाशित मिति: २०२६-११-१५ , समय : ०८:३१:१६ , 1 hour अगाडि