बिचित्रकाे संसार : दुई बच्चाकी आमाको एउटै घरमा श्रीमान् र प्रेमी राख्ने अडान , श्रीमान् पनि सहमत!
मिति: २०२६-११-२२ , समय : २०:३०:११ , गामघर डेस्क
मिति: २०२६-११-२२ , समय : २०:३०:११ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं ।
श्रीमान् र प्रेमी दुवैलाई समय मिलाउन नसकेपछि अब प्रहरीलाई नै ड्युटी चार्ट बुझाउनुपर्ने अवस्था आयो भन्दा पत्यार नलाग्न सक्छ! तर भारतको उत्तर प्रदेशमा दुई बच्चाकी एक आमाले यस्तै अनौठो प्रस्ताव प्रहरीसमक्ष राखेपछि घटना चर्चामा आएको छ।
भारतको उत्तर प्रदेशस्थित सीतापुर जिल्लाको महमुदाबाद क्षेत्रकी ती विवाहित महिला श्रीमान् र प्रेमी दुवैसँग एउटै घरमा बस्न चाहन्छिन्। त्यसका लागि उनले दुवै पुरुषको जिम्मेवारी र समयसमेत बाँडफाँट गरेर प्रहरीलाई तालिका नै बुझाएकी छन्।
महिलाको प्रस्तावअनुसार प्रेमी दिनभरि उनी र बच्चाहरूसँग रहनेछन् भने श्रीमान् रातिको समयमा उनीसँग बस्नेछन्। अझ रोचक कुरा त के छ भने उनका श्रीमान् पनि यो व्यवस्थामा सहमत रहेको बताइएको छ। उनले श्रीमती र प्रेमी दुवैलाई नछोड्ने अडान लिएका छन्। आवश्यक परे आफू घर छोड्नसमेत तयार रहेको उनको भनाइ छ।
महमुदाबाद क्षेत्रको फुलवारीपुरकी ती महिलाले गत मार्च २१ मा आफ्ना प्रेमीसँग मन्दिरमा विवाह गरेको दाबी गरेकी छन्। दैनिक जागरणका अनुसार प्रेमी यसअघि पनि श्रीमान्को घरमा आउने र बस्ने गर्थे। श्रीमान्ले उनलाई आफ्नो भाइ भनेर चिनाउने गरेका थिए। पछि उनीहरूबीचको निकटता प्रेम सम्बन्धमा परिणत भएको र दुवैले मन्दिरमा विवाह गरेको बताइएको छ।
तर, महिलाको यो निर्णयमा उनका सासू-ससुरा र परिवारका अन्य सदस्य भने सहमत छैनन्। उनीहरूले सम्बन्धको विरोध गरेपछि घरमा विवाद बढेको थियो। त्यसपछि महिला श्रीमान्, प्रेमी र दुई बच्चासहित प्रहरी चौकी पुगेकी थिइन्।
प्रहरीले तीनै जनासँग छलफल गरेर विवाद समाधान गर्ने प्रयास गरे पनि महिला भने श्रीमान् र प्रेमी दुवैसँगै बस्ने आफ्नो अडानबाट पछि हटेकी छैनन्। उनले दुवै पुरुषको समय र जिम्मेवारी मिलाएर आफूले तयार पारेको ड्युटी चार्टअनुसार व्यवस्था मिलाइदिन प्रहरीसँग आग्रह गरेकी छन्।
श्रीमान् र प्रेमी दुवैलाई एउटै घरमा व्यवस्थापन गर्ने महिलाको यो अनौठो प्रस्ताव अहिले स्थानीय क्षेत्रमा चर्चाको विषय बनेको छ।एजेन्सी
प्रकाशित मिति: २०२६-११-२२ , समय : २०:३०:११ , 1 day अगाडि