राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना
मिति: २०२४-०२-०८ , समय : १८:५२:०६ , गामघर डेस्क
मिति: २०२४-०२-०८ , समय : १८:५२:०६ , गामघर डेस्क
गामघर डेस्क
रूपनगर । राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।
सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार रूपिया हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गर्नुभयो ।
रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैँक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने जानकारी क्याम्पसले दिएको छ ।
अक्षय कोषको आकार एक करोड रूपिया पुर्या।उने तत्कालीन लक्ष्य राखिएको कुरा क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल बताउनु हुन्छ । ‘अक्षय कोषलाई १० करोड रूपियाको बनाएर यो क्याम्पसमा अध्ययन गर्ने सबै छात्र-छात्रालाई निशुल्क शिक्षा दिने हाम्रो सपना हो,’ भन्नु हुने प्राध्यापक गजुरेल गाउँमा उच्च गुणस्तरको शिक्षा उपलब्ध गराउने लक्ष्य राख्नु हुन्छ ।
डा. राजेश अहिराजको योगदानबाट प्रभावित भएर क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ मा ५१ हजार रूपिया थप गर्ने घोषणा तत्काल गर्नुभयो । अक्षय कोषमा रूपनगर निवासी राम प्रसाद खतिवडाले २१ हजार एक सय ११ रूपिया, प्रमीला खतिवडाले ११ हजार एक सय ११ रूपिया र दुवलक्ष्मी श्रेष्ठले १० हजार रूपिञा योगदान गर्नुभयो ।
विशिष्ठ अतिथिको आशनबाट समारोहलाई सम्बोधन गर्दै डा. अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भनेर यो क्याम्पस रोजेको बताउनु भयो । ‘मृत्यु पछिको जीवन समेतलाई सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनु पर्छ,’ उहाँले भन्नुभयो ।
उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायाधीश डा. रत्न बहादुर बागचन्दले यो छात्रवृत्तिबाट विद्यार्थीहरू प्रोत्तसाहित हुने आशा व्यक्त गर्नुभयो । ‘शिक्षा गुणस्तरीय नभए सम्म समाजले उन्नति गर्न सक्तैन,’ भन्दै डा. बागचन्दले हामी सबैले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले विद्यार्थीहरूलाई आफूले र नगरपालिकाका तर्फबाट हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिक्षाको मन्दिरमा गुरुको स्थान उच्चतम् हुने हाम्रो सनातन परम्परा अनुशरण गर्दै कार्यक्रममा प्रमुख अतिथि बनाइनु भएका पूर्व प्रधानाध्यापक शम्भु प्रसाद धिमिरेले शिक्षाप्रति सरकारको व्यवहारले हाम्रो शिक्षाको स्तर कमजोर भएकोमा खिन्नता व्यक्त गर्नुभयो ।
राष्ट्र निर्माताका नाममा छात्रवृत्ति कोष स्थापना भएकोमा खुशी व्यक्त गर्दै क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले शिक्षामा आफूले गरेको सानो योगदान सार्थक भएको बताउनुभयो ।
अध्यक्ष संग्रौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन तुलसीमा जल अर्पण गरी नवीन शैलीबाट गरिएको थियो ।
प्रकाशित मिति: २०२४-०२-०८ , समय : १८:५२:०६ , 1 year अगाडि