मिटरब्याज पीडितकाे अवस्था दयनीय बन्दै : त्रिपालको चिसो, भोक र रोगले ग्रसित

मिति: २०२४-०३-०२ , समय : १७:३४:०१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
काठमाण्डौ स्थित भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका मिटरब्याज पीडितहरूको अवस्था दयनीय बन्दै गएको छ । माघ १६ गते पूर्व र पश्चिमबाट पैदलयात्रा शुरु गरेका पीडितहरू काठमाण्डौमा आएको पनि १० दिन भइसकेको छ । तर पनि सरकारले समाधानको बाटो ननिकाल्दा पीडितहरूको अवस्था बिग्रँदै गएको हो ।

भृकुटीमण्डपमा त्रिपालमुनि बसेका पीडितहरू चिसो र भोकले गल्दै गएका छन् । पीडितहरूमा झाडापखाला र रुघाखोकीको प्रकोप फैलँदो छ भने कतिपयलाई कुकुरले टोकेको छ । पीडितहरूलाई दिनमा एक पटक दालभातको व्यवस्था छ ।

पैसा हुनेले चिउरा, भुजिया लगायत किनेर खाए पनि धेरै भोकभोकै बस्ने गरेका छन् । भृकुटीमण्डपमा रहेको सार्वजनिक शौचालयमा पैसा तिर्नुपर्छ । पैसा नभएकोले लामो समयसम्म पिसाब च्यापेरै बस्नुपरेको पीडित शेख मुस्तफाले बताउनुभयो । २३ दिन हिँडेर काठमाण्डौ आएकाहरूको गोडामा फोका उठ्नुको साथै सुन्निएको छ । बाटोमा भएको आक्रमणमा केही पीडितहरू घाइते पनि बनेका छन् ।

पीडितहरूले सरकारसँग छ बुँदे माग राखेका छन् । उनीहरूका माग अदालतसँग सम्बन्धित रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । तर समाधानको पहल देखिएको छैन । सरकारले मिटरब्याज लिनेविरुद्ध कानुन बनाए पनि विगतमा ऋण लिनेहरूको विषयमा निर्णय नहुँदा कानुनी समस्या परेको हो ।

प्रकाशित मिति: २०२४-०३-०२ , समय : १७:३४:०१ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित