सप्तरीको हनुमाननगरका एकल महिलालाई जीविकोपार्जन सामग्री हस्तान्तरण
मिति: २०२५-०८-०९ , समय : १०:११:३४ , रबि शर्मा
मिति: २०२५-०८-०९ , समय : १०:११:३४ , रबि शर्मा
रबि शर्मा
हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित दुख्नी देवी धर्मशाला परिसरमा सामाजिक जीवन केन्द्र नेपालको आयोजनामा तथा कतार च्यारिटी नेपालको सहयोगमा आयोजित शनिबार एक विशेष कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका विपन्न तथा अशक्त परिवारहरूलाई जीविकोपार्जनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमअन्तर्गत सिलाई मेसिन २० थान, कुखुरा पालन फर्म २० थान, ह्विलचेयर ४ थान, ट्राइसाइकल ३ थान, अटोमेटिक ह्विलचेयर १ थान, चापाकल ९ थान (जडानका लागि) हस्तान्तरण गरियो। साथै, हनुमाननगरको रा.प्रा.वि. लिल्जा ठाकुर स्कुलका बालबालिकालाई १४० थान स्कुल ब्याग मंगलबार वितरण गरिने कार्यक्रम तय भएको छ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साहले प्रमुख अतिथिका रूपमा सामग्री हस्तान्तरण गर्नुभयो। कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका उप–प्रमुख, वडा नं. ९ का वडा अध्यक्ष हरिचन्द्र वर्मा, वडा नं. १२ का वडा अध्यक्ष श्रीचन्द्र मुखिया, गैरसरकारी संस्था जनचेतना नेपालका अध्यक्ष तरुण साह, अन्य वडाध्यक्षहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।
यस अभियानमा एकल महिला आत्मनिर्भरता तथा पुनर्स्थापना केन्द्र सप्तरीकी अध्यक्ष जुही ठाकुरको विशेष पहल रहेको थियो। उक्त पहलले एकल महिलाहरूको जीवन परिवर्तन, आत्मनिर्भरता र जीविकोपार्जनको अवसर विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
प्रकाशित मिति: २०२५-०८-०९ , समय : १०:११:३४ , 12 hours अगाडि