अब चुनावमा नउठ्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहकाे घोषणा

विभिन्न दल परित्याग गरी जनता समाजवादी पार्टी (जसपा)मा सामूहिक प्रवेश गरेका छन्।

मिति: २०२५-११-०९ , समय : ०८:३१:५९ , निकेश साह

तस्बिर : निकेश साह / गामघर टिभि

निकेश साह

बरमझिया । सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.२ बरमझियामा शनिबार एक समारोहका बिच सयौं भन्दा बढी नेता–कार्यकर्ताले विभिन्न दल परित्याग गरी जनता समाजवादी पार्टी (जसपा)मा सामूहिक प्रवेश गरेका छन्।

कार्यक्रमले सो क्षेत्रको राजनीतिक समीकरण नै परिवर्तन गरेको स्थानीयहरूले बताएका छन्। नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र लोसपा नेपाल परित्याग गरी उनीहरू जसपामा प्रवेश गरेका हुन्।

लोसपाबाट वडाध्यक्षका पूर्व–प्रत्यासी अशोक मण्डलको नेतृत्वमा ५० जना, नेपाली कांग्रेसबाट राहुल शेखको नेतृत्वमा २५६ जना, जनमत पार्टीबाट वडा सदस्यकी उम्मेदवार जुलसीदेवी रामको नेतृत्वमा ७० जना, जसपा नेपालबाट राजकुमार मण्डलको समूहसहित एक दर्जनभन्दा बढी र स्थानीय नेता भोला चौधरीको नेतृत्वमा पनि एक दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पार्टी प्रवेश गरेका हुन्।

स्थानीय कबड्डी हल नजिक आयोजित कार्यक्रममा बिहानदेखि साँझसम्म जनसागर उम्लिएको थियो। जसपाका झण्डा, ब्यानर र नाराले सम्पूर्ण क्षेत्र गुन्जिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि निर्वतमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह रहेका थिए। विशिष्ट अतिथि जसपा युवा नेता सुमित साह थिए भने कार्यक्रमको अध्यक्षता जसपा नगर कमिटीका मेयर पदका उम्मेदवार भोला पासवान ले गरेका थिए। कार्यक्रम सञ्चालन जसपा जिल्ला अध्यक्ष चित्रञ्जन यादव ले गरेका थिए।

मन्त्री साहले भावनात्मक सम्बोधन गर्दै बर्मझियाको भगवती मन्दिर र मुस्लिम समुदायको कब्रिस्तानका लागि सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिए। उनले भने, “मैले तीन करोडको योजना कब्रिस्तानका लागि ल्याइसकेको छु, भगवती मन्दिर पनि निर्माण गरेरै छोड्छु। मेरो लागि सबै धर्म र समुदाय बराबर छन्। जबसम्म म छु, जनताको सेवामा कमी आउँदैन।”

साहले अब चुनावमा नउठ्ने घोषणा गर्दै जनताको सेवा निरन्तर उनका छोरा सुमित साहले गर्ने उल्लेख गर्दै भने, “अब मेरो उमेर भइसकेको छ, सुमितले जनताको सेवा निरन्तर गर्नेछन्। म सास लिने दिनसम्म जनताको पक्षमा रहन्छु।”

त्यसैगरी जसपा मेयर पदका उम्मेदवार भोला पासवान ले नगरपालिकामा व्याप्त भ्रष्टाचार र विभेदको आरोप लगाउँदै भने, “कञ्चनरुपमा सयौं पढेलेखेका युवाहरू छन्, तर जागिर पाउने सीमित कार्यकर्ता मात्रै हुन्। जसले मिहिनेत गर्छ, उसलाई अवसर दिइँदैन। अब परिवर्तन आवश्यक छ, जसपाको विकल्प छैन।”

कार्यक्रममा जसपा वडा नं. २ का संयोजक रोहित साह ले स्वागत मन्तव्य दिएका थिए।
त्यस्तै, समाजसेवी ताज शेख, समिद शेख, वडा नं. १ का उम्मेदवार रामदेव शर्मा, नगर अध्यक्ष अनिल कुमार पंझियार, जसपा नेता अर्जुन पंखियार, वडा नं. ९ का अध्यक्ष रामसुन्दर यादव, वडा नं. १० का अध्यक्ष दामोदर खड्गा, वडा नं. १ का संयोजक रामदेव खंग, नवप्रवेशी नेता राहुल शेख र अशोक मण्डल लगायतले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।

उक्त कार्यक्रममा महिला, युवा र ज्येष्ठ नागरिक सबैको उत्साहपूर्ण सहभागिता देखिएको थियो। पत्रकार किशोर पासवान, राजकुमार पासवान लगायतका व्यक्तिहरूको उपस्थिति थियो। आयोजकका अनुसार कार्यक्रममा करिब ७५० जनाभन्दा बढी सहभागी थिए।

जसपामा प्रवेश गर्नेहरूले भने,
“अब देश र नगरको विकास जसपाबाटै सम्भव छ। भोला पासवानजस्ता इमानदार नेता आज दुर्लभ छन्।”

स्थानीयहरूले यस ऐतिहासिक प्रवेशलाई “जनताको एकता र परिवर्तनको सुरुवात” भन्दै स्वागत गरेका छन्। गाउँभर ‘जय जसपा, जय जनताको नेतृत्व’ का नाराले वातावरण गुन्जायमान बनेको थियो।

प्रकाशित मिति: २०२५-११-०९ , समय : ०८:३१:५९ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित