फेसबुकबाट प्रेम : अदालतमा विवाह दर्ता, विवाहको १८ महिना नबित्दै श्रीमानबाट यातना
मिति: २०२५-११-१९ , समय : ०९:१२:४७ , इन्द्र भुषण यादब
मिति: २०२५-११-१९ , समय : ०९:१२:४७ , इन्द्र भुषण यादब
इन्द्र भुषण यादब
राजविराज ।
फेसबुक मार्फत प्रेममा परेर जीवनभर साथ निभाउने वाचासहित एकअर्कालाई श्रीमान् श्रीमतीका रूपमा स्वीकार गरेर अदालतमा विवाह दर्ता गराएको १८ महिना नबित्दै श्रीमानले बोली, वचन र व्यवहार फेरेपछि श्रीमतीको बिचल्ली भएको छ ।
सप्तरीको रूपनी गाउँपालिका वडा न.३ मकरी टोलका ३० वर्षीय सन्देश साहले यसरी बोली, वचन र व्यवहार परिवर्तन गरेपछि आफ्नो बिचल्ली भएको उनकी श्रीमती २८ वर्षीया सञ्जिता साहले गुनासो पोखेकी हुन् । सप्तरीको कञ्चनरूप नगरपालिका वडा न.७ माइती भएकी सञ्जितासँग सन्देशको ९ जेठ २०८१ मा पर्सा जिल्ला अदालतमा विवाह दर्ता भएको थियो । अदालतका शाखा अधिकृत राजन मिश्राको उपस्थितिमा दुवै जनाले निवेदन दिँदै एक अर्कालाई श्रीमान् श्रीमतीको रूपमा स्वीकार गर्ने मञ्जुरी गरेपछि विवाहको प्रमाणपत्र उपलब्ध गराइएको थियो ।
सञ्जिता सिन्धुलीस्थित एक विद्यालयमा नर्स पदमा कार्यरत छिन् भने सन्देश वीरगन्जस्थित एक प्राइभेट कम्पनीमा इन्जिनियर पदमा कार्यरत छन् । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा प्रेम सम्बन्ध स्थापित भएको र प्रेम गहिरिँदै जाँदा विवाह गर्न पुगेको सञ्जिताको भनाइ छ । सुरुका केही दिन राम्रै बिते पनि पछि दाइजोका नाममा सासू, ससुरा र श्रीमानले शारीरिक र मानसिक यातना दिनुका साथै कुटपिट र घर निकालासमेत गरेपछि न्यायका लागि जिल्ला प्रशासन कार्यालय हुँदै सप्तरी जिल्ला अदालतसम्म पुगेको सञ्जिताको भनाइ छ । उनले दाइजोको निहुँमा आफूलाई प्रताडित गर्न थालिएको सुनाइन् । पछिल्लोपटक बिहीबार पुनः कुटपिट गर्दै घर निकाला गरेपछि जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै सञ्जिताले उजुरी दिएकी छन् ।
यसअघि उनले श्रीमान् सन्देशसँगै ससुरा धर्मदेव साह, सासू किरणलाई प्रतिवादी बनाई सप्तरी जिल्ला अदालतमा दायर गरेको घरेलु हिंसा मुद्दाउपर सुनुवाइ गर्दै २३ असार २०८२ मा न्यायाधीश मोहनबहादुर अधिकारीको एकल इजलासले अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो । घरेलु हिंसा (कसुर सजाय ऐन) २०६६ को दफा ६ बमोजिम जारी आदेशमा निज सञ्जितालाई सुरक्षित रूपमा घरमा बस्न दिनु, खान लाउन दिनु, कुटपिट र गाली बेइज्जत नगर्नु तथा अन्य कुनै प्रकारले दुःख दिने कार्य नगर्नु÷नगराउनु भन्ने उल्लेख छ । तर, त्यसको पालना हुन नसकेको सञ्जिताको भनाइ छ ।
आदेशपछि स्थानीय समाजको पहलमा उनलाई गृह प्रवेश गराइए पनि भित्रको कोठामा नराखी आँगनमा रहेको टिनको छानो भएको स्टोर कोठामा एक्लै राखिएको पाइएको छ । यति मात्र होइन, आफूलाई खान, लाउनसमेत नदिएपछि समाज र माइती पक्षबाट प्राप्त खाद्यान्न, भाँडाकुँडा र अन्य सरसामान ल्याएर खाना पकाउने गरेको सञ्जिताले सुनाएकी छन् ।
उनले आफूविरुद्ध झुटो कुरा लगाएर सासू ससुराले श्रीमान्लाई भड्काउने र श्रीमान् पनि कानेखुसीमा परी आफूसँग टाढिएर सम्पर्कविहीन बन्ने गरेको सुनाइन् । ‘अरूको नम्बरबाट कल जान्छ तर मैले फोन गर्दा ब्लकमा राखिदिएकाले कुरा हुँदैन,’ सञ्जिताले भनिन्, ‘कुनैबेला तिमीसँग विवाह नभए आत्महत्या गर्छु भन्ने सन्देश अहिले बोली फेर्दै अलपत्र पारेर भागीभागी हिँड्ने गरेका छन् ।’
सञ्जिताका ससुरा धर्मदेव साह शिक्षण पेसामा संलग्न छन् । उनी तेली समुदायको जातीय संगठन तेली समाज सप्तरीनिकटको साह शिक्षक–कर्मचारी मिलन केन्द्र सप्तरीका अध्यक्षसमेत हुन् । सञ्जितालाई कानुनी सहायता उपलब्ध गराइरहेका कानुन व्यवसायी अधिवक्ता हेमनारायण चौधरीले यो घटना महिला हिंसाको पराकाष्ठा भएको बताए । उनले बौद्धिक परिवारका भनाउँदा व्यक्तिहरूबाटै यस्तो अशोभनीय घटना हुनु लज्जास्पद र दुःखद कुरा भएको बताए ।
सञ्जिताका बुवा रामेश्वर साहले छोरीलाई सुरक्षित रूपमा घरमा राख्न पाउने व्यवस्थाका लागि सबैसँग याचना गरेका छन् । उनले यस विषयमा पटक–पटक जातीय संस्था र समाजमा पञ्चायती बसेर ज्वाइँ र उनका आमा बुबालाई सम्झाउने प्रयास भए पनि सहमतिविपरीत छोरीलाई दुःख दिने कार्य बन्द नभएको गुनासो पोखे । उनले यसरी छोरीमाथि यातना दिने कार्य जारी रहेपछि आफूहरूले पहिलोपटक १९ कात्तिक २०८२ मा उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय तथा दोस्रोपटक २७ कात्तिक २०८२ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताएका छन् । उनले पनि मागेजतिको दाइजो नदिएको निहुँमा छोरीलाई यसरी प्रताडित गर्न थालिएको दाबी गरे ।
सञ्जिताका श्रीमान् सन्देशले भने सो आरोप निराधार भएको दाबी गरेका छन् । उनले सुरुमा सञ्जिताबाट राम्रै व्यवहार देखिए पनि पछि गएर परिवर्तन भएको र उनीसँग लामो समयसम्म बस्ने अवस्था नदेखिएपछि ३ असार २०८२ मा पर्सा जिल्ला अदालतमा फिरादपत्र दायर गरेको बताएका छन् । उनले अंशबन्डा गरी अलग भई बस्ने मनसायका साथ सो फिरादपत्र दायर गरेको स्पष्ट पारेका छन् ।
सञ्जिताकी सासू किरणले छोराले सञ्जितासँग बस्न अस्वीकार गरेकाले बुहारीका रूपमा भित्र्याउन समस्या भएको बताइन् । उनले छोराले स्वीकार गरे आफूले सञ्जितालाई सम्मानपूर्वक बुहारीका रूपमा घर भित्र्याउने स्पष्ट पारेकी छन् ।
प्रहरी निरीक्षक प्रमोद साहले दुवै पक्षका मान्छे राखेर छलफलबाट विवाद समाधानको प्रयास भइरहेको बताए । ‘सामाजिक तथा प्रहरीस्तरबाट समेत समस्या समाधानको प्रयास भइरहेको छ,’ उनले भने, ‘सहमति नगरे कानुनबमोजिम अघि बढ्नेछौं ।
प्रकाशित मिति: २०२५-११-१९ , समय : ०९:१२:४७ , 2 weeks अगाडि