बिचित्र संसार : नगद र गरगहना सहित एक महिला तान्त्रिकसँग फरार

मिति: २०२६-०२-१२ , समय : ०७:५५:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
भारतको मध्य प्रदेशको इन्दौरमा एउटा अचम्मको घटना भएको छ। वाणगंगा प्रहरी थाना क्षेत्रमा बस्ने एक महिला अचानक आफ्नो घरबाट बेपत्ता हुन्छिन्।

सुनचाँदीका गरगहना र नगदसहित उनी हराएपछि परिवारमा हंगामा मच्चिन्छ। अनि परिवारले उनी हराएको भनेर प्रहरी चौकीमा उजुरी दिन्छन्।

यसपछि प्रहरीले अनुसन्धान गर्दा ती महिला तान्त्रिकसँग भागेको पत्ता लाग्छ। उनी भोपाल भन्ने स्थानमा फेला पर्छिन्।

घटनाबारे जानकारी दिँदै एसीपी रुबिना मिजबानीले भनिन्, ‘महिला बेपत्ता भएपछि प्रहरीले गम्भीर अनुसन्धान गरेको थियो। पहिले महिलाको पति र परिवारका अन्य सदस्यको बयान लिइयो। अनुसन्धानका क्रममा पति र परिवारको भनाइमा धेरै भिन्नता पाइयो। त्यसपछि प्रहरीले प्राविधिक प्रमाणका आधारमा महिला रहेको स्थान पत्ता लगायो।’

प्राविधिक अनुसन्धानले महिलाको अन्तिम स्थान भोपाल भएको पत्ता लाग्यो। त्यसपछि इन्दौरबाट प्रहरीको टोली भोपाल गयो र महिलालाई सुरक्षित रूपमा नियन्त्रणमा लियो।

आजतकको रिपोर्टअनुसार हाल महिलालाई इन्दौर ल्याइएको छ र सोधपुछ भइरहेको छ।

सोधपुछका क्रममा महिलाले लामो समयदेखि आफ्नो पतिबाट पीडित भएको बताएकी छन्। यस क्रममा उनले राकेश जाटव नामक युवकलाई भेटिन्, जो तान्त्रिक र पूजापाठको काम गर्थे।

उनले भनिन्, ‘राकेशले घरेलु समस्या हटाउने भनेर पूजा गर्ने क्रममा हामीबिच कुराकानी बढ्दै गयो र बिस्तारै नजिक भयौँ। अनि घरेलु तनावबाट पीडित मैले राकेशसँगै बस्ने निर्णय गरेँ।’

प्रहरी स्रोतका अनुसार महिलासँग भागेका युवक राकेश जाटव तान्त्रिक संस्कारको नाममा मानिसहरूलाई प्रभावमा पार्थे। महिलालाई प्रलोभनमा पारिएको थियो वा मानसिक रूपमा प्रभावित पारिएको थियो भन्ने कुरा अनुसन्धान भइरहेको छ।

हाल प्रहरीले घटनाबारे हरेक कोणबाट अनुसन्धान गरिरहेको छ। अनुसन्धान पूरा भएपछि थप कानुनी कारबाहीको निर्णय गरिने प्रहरीले बताएको छ। एजेन्सी

प्रकाशित मिति: २०२६-०२-१२ , समय : ०७:५५:१८ , 21 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित