मधेस प्रदेशको सर्लाही नाकाबाट खुलेआम तस्करी : ‘सेटिङ’ मिल्दा छिर्छ सामान, नमिल्दा हुन्छ पक्राउ !

मिति: २०२६-०४-०३ , समय : १५:०५:३१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । भारतसँग सिमाना जोडिएको सर्लाही जिल्लामा भन्सार छली र तस्करीको जालो गहिरिँदै गएको तथ्य फेरि एकपटक सार्वजनिक भएको छ। पछिल्लो घटनाले यहाँको सीमावर्ती क्षेत्र ‘तस्करीको ट्रान्जिट हब’ बन्दै गएको संकेत मात्र दिएको छैन, सम्बन्धित निकायको भूमिका र ‘सेटिङ’को आशंकालाई समेत गम्भीर रूपमा उठाएको छ।

हालै सर्लाही प्रहरीले ज १ ह ४४५१ नम्बरको अटो नियन्त्रणमा लिँदा भारतबाट भन्सार छली गरेर ल्याइएका विभिन्न किराना सामग्री बरामद गर्‍यो। उक्त अटोमा लुकाई–छिपाई ल्याइएको मरिच करिब ३४ किलो, मैदा करिब सात बोरा, पाउडर दूध करिब ४५ किलो, पेढा १३५ डिब्बा र चकलेट ३० डिब्बा फेला परे।

घटनामा संलग्न सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी अन्दाजी ३० वर्षीय बवी महतो (बबीता उपनाम ‘चस्मा बाली’) लाई पनि नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाइएको छ। भन्सार कार्यालयका अनुसार अटोको मूल्य ३ लाख ५० हजार रुपैयाँ र बरामद सामानको मूल्य १ लाख २७ हजार १२५ रुपैयाँ गरी कुल ४ लाख ७७ हजार १२५ रुपैयाँ बराबरको सामान दाखिला गरिएको छ।

लामो समयदेखि सक्रिय ‘चस्मा बाली’

प्रहरी स्रोतका अनुसार बवी महतो उर्फ ‘चस्मा बाली’ लामो समयदेखि त्रिभुवननगर नाका हुँदै भारतबाट किराना लगायतका सामग्री भन्सार छली गरेर नेपाल भित्र्याउने कार्यमा संलग्न थिइन्। स्थानीयहरूका अनुसार उनी मात्र होइनन्, यस क्षेत्रमा यस्ता दर्जनौं समूह सक्रिय छन्, जसले दैनिक रूपमा साना–ठूला सामान नेपाल भित्र्याउने गरेका छन्।

नाकाहरूमा तस्करीको ‘खुला खेल’

सर्लाहीका त्रिभुवननगर, टावर क्षेत्र लगायतका सीमावर्ती नाकाहरू अहिले तस्करीका लागि ‘हटस्पट’ जस्तै बनेका छन्। राति मात्र होइन, दिउँसै समेत साना सवारी साधन, साइकल, मोटरसाइकल र पैदलमार्फत सामान भित्र्याउने क्रम चलिरहेको स्थानीयको भनाइ छ। “तस्करी यहाँको नियमित व्यापार जस्तै भइसकेको छ,” एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, “जबसम्म सेटिङ मिल्छ, सामान सजिलै आउँछ। नमिल्दा मात्रै प्रहरीले समात्छ।”

सेटिङ’को खेल : पक्राउ कि पार ?

स्थानीय व्यापारीहरूका अनुसार तस्करी नियन्त्रणभन्दा पनि ‘दररेट’ निर्धारण गर्ने प्रवृत्ति बढ्दै गएको छ। उनीहरू भन्छन्—तस्कर र केही सुरक्षाकर्मी तथा भन्सार कर्मचारीबीच ‘सेटिङ’ मिलेसम्म सामान सजिलै भित्रिन्छ। तर, लेनदेनमा कुरा नमिल्दा वा माथिबाट दबाब आउँदा मात्रै कारबाही देखाउने गरिन्छ।
एक व्यापारीले भने, “सबैलाई थाहा छ कुन सामान कति पैसामा छिर्छ। कतिपय अवस्थामा त दररेट नै तय हुन्छ। तर कहिलेकाहीँ ‘माथि’ कुरा नमिल्दा त्यही सामान समातिन्छ र देखावटी कारबाही हुन्छ।”

राजस्वमा ठुलो क्षति

यस्तो अवैध गतिविधिले राज्यको राजस्वमा ठुलो नोक्सानी पुर्‍याइरहेको छ। दैनिक रूपमा सानो–सानो परिमाणमा भित्रिने सामानले समग्रमा करोडौं रुपैयाँ बराबरको राजस्व गुमिरहेको अनुमान गरिएको छ। विशेष गरी खाद्यान्न, लत्ताकपडा, कन्फेक्सनरी र अन्य उपभोग्य वस्तुमा तस्करी बढी देखिन्छ।

सुरक्षा निकायको चुनौती कि मिलेमतो ?

सशस्त्र प्रहरी बल र नेपाल प्रहरी दुवैले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको दाबी गरे पनि यस्ता घटनाले उनीहरूको प्रभावकारितामाथि प्रश्न उठाएको छ। कतिपयले यसलाई स्रोत–साधनको अभाव र खुला सीमाको चुनौतीका रूपमा व्याख्या गर्छन् भने अन्यले प्रत्यक्ष मिलेमतोको आशंका गर्छन्।
एक पूर्व सुरक्षाकर्मी भन्छन्, “खुला सीमा भएकाले पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो छ। तर, यति धेरै मात्रामा तस्करी हुनु भनेको कतै न कतै कमजोरी—वा मिलेमतो—पक्कै छ।”

टावर क्षेत्र : तस्करीको केन्द्रबिन्दु

सर्लाहीको तथाकथित ‘टावर क्षेत्र’ तस्करीका लागि सबैभन्दा संवेदनशील मानिन्छ। यहाँबाट विभिन्न प्रकारका सामान सजिलै नेपालतर्फ ल्याउन सकिने भएकाले तस्करहरूको रोजाइमा पर्ने गरेको छ। स्थानीय बासिन्दाका अनुसार रातिको समयमा यहाँ गतिविधि अझै बढ्ने गर्दछ।स्थानीय प्रशासनले तस्करी नियन्त्रणका लागि नियमित अनुगमन र कारबाही भइरहेको दाबी गर्दै आएको छ। तर, पछिल्लो घटनाले ती दाबीमाथि प्रश्न उठाएको छ। सर्वसाधारणले भने प्रभावकारी कदमको माग गरेका छन्।

विज्ञहरूका अनुसार तस्करी नियन्त्रणका लागि केवल पक्राउ र कारबाही पर्याप्त हुँदैन। दीर्घकालीन समाधानका लागि निम्न उपाय आवश्यक देखिन्छन्:
सीमावर्ती क्षेत्रमा प्रविधियुक्त निगरानी प्रणाली (CCTV, ड्रोन) को प्रयोग
सुरक्षाकर्मी र भन्सार कर्मचारीको नियमित अनुगमन तथा स्थानान्तरण
स्थानीय तहसँग समन्वय गरेर जनचेतना अभियान
भ्रष्टाचारविरुद्ध कडा कारबाही र पारदर्शिता

सर्लाहीमा भइरहेको पछिल्लो घटनाले एउटा गम्भीर प्रश्न खडा गरेको छ—के तस्करी नियन्त्रण भइरहेको छ, कि केवल देखावटी कारबाही मात्र भइरहेको छ ?
जबसम्म ‘सेटिङ’को संस्कार अन्त्य हुँदैन र सम्बन्धित निकाय जिम्मेवार बन्दैनन्, तबसम्म यस्ता घटना दोहोरिइरहने निश्चित देखिन्छ। अहिलेको पक्राउ घटना पनि वास्तविक नियन्त्रणको संकेत हो कि ‘दररेट नमिलेको परिणाम’—यो प्रश्नको जवाफ खोज्न जरुरी देखिन्छ। नव जनप्रहारबाट

प्रकाशित मिति: २०२६-०४-०३ , समय : १५:०५:३१ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित