सीमामा ‘सेटिङ’को साम्राज्य : महोत्तरीका नाकाबाट दिनदहाडै गाईगोरु तस्करी

मिति: २०२६-०५-१५ , समय : ०८:०६:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । नेपाल–भारत सीमावर्ती क्षेत्र महोत्तरीका विभिन्न नाकाबाट गाईगोरुको अवैध तस्करी निरन्तर रूपमा भइरहेको तथ्य फेरि उजागर भएको छ । नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएका गाईगोरु भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पटक–पटक नियन्त्रणमा लिन थालेपछि सीमा क्षेत्रमा भइरहेको संगठित तस्करी र त्यसमा सुरक्षाकर्मीको मिलेमतोबारे गम्भीर प्रश्न उठ्न थालेको हो ।
मंगलबार बिहान भारतीय एसएसबीले महोत्तरीसँग जोडिएको भारतीय सीमाक्षेत्रबाट नेपालबाट तस्करी गरेर लैजाँदै गरिएका करिब ५० वटा गाईगोरु नियन्त्रणमा लिएको जनाएको छ । यसअघि पनि वैशाखको पहिलो साता सयौँको संख्यामा गाईगोरु समातिएको घटना सार्वजनिक भएको थियो । तर, यति धेरै परिमाणमा बारम्बार गाईगोरु समातिँदा समेत नेपाली सुरक्षा निकाय र प्रशासन भने मौन देखिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
स्थानीय सीमावर्ती बासिन्दाका अनुसार रातिको समयमा खुला नाका, खेतको बाटो र नदी आसपासका क्षेत्र प्रयोग गरेर ठूलो संख्यामा गाईगोरु भारततर्फ पु¥याइने गरिएको छ । “यो सामान्य चोरी–तस्करी होइन, संगठित गिरोहको काम हो,” एक स्थानीयले भने, “सुरक्षाकर्मीको संरक्षणबिना यति ठूलो संख्यामा ओसारपसार सम्भव नै हुँदैन ।”
सीमाक्षेत्रका बासिन्दाहरूका अनुसार पछिल्लो समय महोत्तरीका सम्सी, जलेश्वर, भिट्ठामोड आसपास, मटिहानी तथा अन्य ग्रामीण नाकाहरू तस्करहरूको ‘ट्रान्जिट रुट’ बनेका छन् । राति ट्रक, पिकअप तथा पैदल समूहमार्फत गाईगोरु सीमा पार गराउने गरिएको उनीहरूको दाबी छ । कतिपय अवस्थामा भारतीय पक्षले समाते पनि नेपाली पक्षमा भने अनुसन्धान नै अघि नबढ्ने गरेको आरोप छ ।
स्थानीयहरूले खुला रूपमा सुरक्षाकर्मीमाथि नै प्रश्न उठाएका छन् । “सीमामा हरेक गतिविधि प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको निगरानीमा हुन्छ । तर, यति ठूलो तस्करी महिनौँदेखि भइरहँदा कसैले नदेखेझैँ गर्नु शंकास्पद छ,” अर्का एक स्थानीयले भने ।नेपालमा गाईगोरुको अवैध कारोबार कानुनतः निषेध छ । नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार गाई राष्ट्रिय जनावर भएकाले गाईको बध, ओसारपसार तथा अवैध कारोबार दण्डनीय अपराध मानिन्छ । संहिताको दफा २८९ मा गाई वा गोरु मार्न, कुट्न वा कुनै किसिमले अंगभंग गर्न नहुने व्यवस्था गरिएको छ । उक्त कसुर गरेमा तीन वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
त्यस्तै, पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ र भन्सार ऐन, २०६४ ले पनि अनुमति बिना पशु चौपायाको निकासी तथा ओसारपसारलाई गैरकानुनी मानेको छ । कानुनले स्पष्ट रूपमा रोक लगाएको विषयमा सीमा क्षेत्रमा खुलेआम तस्करी भइरहनु राज्य संयन्त्रकै कमजोर उपस्थिति वा मिलेमतोको संकेत भएको भन्दै नागरिक समाजले प्रश्न उठाउन थालेका छन् ।
स्रोतका अनुसार भारतमा मासु उद्योग तथा अन्य प्रयोजनका लागि नेपाली सीमाबाट गाईगोरु पु¥याउने गिरोह सक्रिय छ । आर्थिक प्रलोभनमा स्थानीय बेरोजगार युवालाई प्रयोग गरेर सीमासम्म गाईगोरु पु¥याइने र त्यसपछि भारतीय पक्षका एजेन्टलाई जिम्मा लगाइने गरिएको बताइन्छ । एउटा गाईगोरु भारत पु¥याएबापत हजारौँ रुपैयाँसम्म रकम चल्ने गरेको स्रोतको दाबी छ ।सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीमाथि बेला–बेलामा तस्करी संरक्षणको आरोप लाग्दै आए पनि ठोस अनुसन्धान र कारबाही भने विरलै हुने गरेको छ । कतिपय अवस्थामा घटना सार्वजनिक भएपछि केही दिन कडाइ देखाउने तर पुनः पुरानै शैलीमा तस्करी सञ्चालन हुने गरेको स्थानीयको भनाइ छ ।
भारतीय एसएसबीले लगातार कारबाही गरिरहँदा नेपाली प्रशासनको निष्क्रियता झन् प्रश्नको घेरामा परेको छ । “भारतीय पक्षले समातिरहेको छ, तर नेपालतर्फबाट तस्कर को हुन् ? कसले संरक्षण गरिरहेको छ ? किन पक्राउ पर्दैनन् ? यसको जवाफ राज्यले दिनुपर्छ,” स्थानीय अगुवाहरूको माग छ ।सीमाक्षेत्रमा गाईगोरु तस्करी मात्रै होइन, अन्य अवैध कारोबारसमेत बढ्दै गएको भन्दै स्थानीयले प्रभावकारी निगरानी, संयुक्त गस्ती र सुरक्षा निकायमाथि निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूका अनुसार राजनीतिक संरक्षण र सुरक्षा संयन्त्रभित्रको ‘सेटिङ’ अन्त्य नगरेसम्म तस्करी नियन्त्रण सम्भव छैन ।महोत्तरीका नाकाबाट भइरहेको गाईगोरु तस्करीले अहिले राष्ट्रिय सुरक्षा, कानुनी शासन र धार्मिक संवेदनशीलतामाथि नै गम्भीर प्रश्न उठाएको छ । तर, राज्य संयन्त्र भने अझै पनि मौन देखिँदा सीमावर्ती बासिन्दामा निराशा र आक्रोश बढ्दो छ । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२६-०५-१५ , समय : ०८:०६:२५ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्