सप्तरीकाे बधशालाहरुमा कुहिएको र बासी मासु बरामद

मिति: २०२६-०५-१३ , समय : ०६:३४:१६ , गामघर डेस्क

तस्बिर : गामघर,टिभि

गामघर डेस्क

सप्तरी ।
संयुक्त बजार अनुगमन समिति सप्तरीद्वारा राजविराज स्थित बधशालाहरुको अनुगमनको क्रममा फेला परेका कुहिएको र बासी मासु नष्ट गरिएको छ । अनुगमनका क्रममा कुहिएको र बासी मासु बरामद भए पछि नष्ट गरिएको हो ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा न.३ स्थित एक वर्षदेखि संचालनमा रहेको मोहम्मद कादिर, मोहम्मद मस्तकिमको समेत ३ वटा दर्ता नरहेको मासु पसलबाट जिल्ला प्रशासनको संयुक्त अनुगमन टोलीले खान अयोग्य मासु कब्जा गरी सटरमा ताल्चा लगाएको छ ।
राजबिराजमा नाम चलेका तथा ठूलो परिमाणमा मासु सप्लाई गर्ने विजय फ्रेस हाउसमा मुल्य सूची नरहेको पाइएको छ । राजविराज नगरपालिकाको पशुपंक्षी विकास शाखाको विज्ञ पशु चिकित्सक सन्नी कुमार दासका अनुसार खान अयोग्य ६ किलो बासी मासु नष्ट गरिएको जनाएको छ । उहाँले प्रति किलो एक हजार ५० निर्धारित मूल्य भन्दा बढी मूल्यमा मासु बेचेको समेत पाइएको बताउनु भयो ।
राजविराज नगरपालिका पशुपंक्षी विकास शाखाद्वारा संचालित हटिया स्थितको सावित्री खशी मासु पसलमा १० किलो बढी कुहिएको मासु फेला परे पछि नष्ट गरिएको छ ।
अनुगमनका क्रममा यमी स्वीट्समा ब्रेड बनाउन मुछिएर राखिएको २ किलो जति मैदा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिनु भयो ।
यस्तै यमी स्वीट्सको भान्सा एवम् तयारी मिठाई, ब्रेड भण्डारण कक्षमा सरसफाईमा कमी, खाने कुरा बनाउने प्रशोधन कक्ष खुल्ला ठाउँमै राखिएको अवस्थामा रहेकोले त्यसलाई पूर्णरूपमा बन्द गरेर आगामी दिनमा सुरक्षित रुपमा खाने कुरा उत्पादन गर्न ’यम्मी ’ का सञ्चालकलाई निर्देशन दिइएको छ ।
भण्डारण कक्ष, प्रशोधन कक्ष तथा व्यक्तिगत सरसफाईमा सुधार गरी हप्ता दिन भित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय को ऐन–२०८१ वमोजिममा उपस्थित हुने होटल तथा मासु पसल सञ्चालकहरुले प्रतिबद्धता जनाएको खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराजले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०५-१३ , समय : ०६:३४:१६ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्