मधेस प्रदेशमा अझै तस्करी नियन्त्रण भएन : गौर भन्सार आसपास ‘सेटिङ’को आरोप
भन्सारको मुख्य गेटदेखि सीमावर्ती नाकासम्म तस्करीको जालो फैलिएको स्थानीयको दाबी, सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न
मिति: २०२६-१०-१५ , समय : १२:००:४१ , गामघर डेस्क
मिति: २०२६-१०-१५ , समय : १२:००:४१ , गामघर डेस्क
फाायल तस्बिर
गामघर डेस्क
काठमाडौं । मधेस प्रदेशको रौतहट जिल्लामा सीमापार तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। गौर भन्सारको मुख्य गेट आसपासदेखि विभिन्न सीमावर्ती नाकासम्म रातिको समयमा तस्करी हुने गरेको स्थानीयको आरोप छ। तस्करी नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका सुरक्षा निकाय तथा भन्सार प्रशासनको निगरानीमाथि समेत प्रश्न उठाइएको छ।
स्थानीयका अनुसार भारतको बैरगनियाबाट आफ्नो घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणले ड्युटीमा खटिएका सुरक्षाकर्मीबाट केरकार र जाँचको सामना गर्नुपर्ने अवस्था छ। तर, संगठित रूपमा सामान ओसारपसार गर्ने भनिएका व्यक्तिहरूलाई भने सहज रूपमा आवतजावत गर्न दिइने गरेको उनीहरूको दाबी छ।
सुरक्षाकर्मी र भन्सार कर्मचारीको भूमिकामाथि प्रश्न

गौर भन्सारको मुख्य गेट आसपास सुरक्षाकर्मी तथा भन्सार कार्यालयका केही कर्मचारीसँग मिलेमतोमा तस्करी हुने गरेको स्थानीयले आरोप लगाएका छन्। स्थानीयहरुका अनुसार गौर भन्सार सुरक्षा गार्डका प्रहरी हवल्दार रामनाथ रजकले भारतको बैरगनियाबाट घरायसी प्रयोजनका लागि किनेर ल्याउँदा समानहरुलाई चेकजाँचको बहानामा केरकार गर्ने तर ती समानहरु तस्करहरुले ल्याउँदा सहजै जान दिने आरोप लगाएका छन्।
रातिको समयमा विभिन्न नाकाबाट सामान ओसारपसार हुने आरोप
स्थानीयले रौतहटका ब्रह्मपुरी, लक्ष्मीपुर बेलबिछवा, महादेवपट्टीको सिमल रुख क्षेत्र तथा झुलुङ्गे पुलको बाँध आसपासका स्थानलाई रातिको समयमा हुने भनिएको अवैध ओसारपसारसँग जोडेर उल्लेख गरेका छन्।
त्यस्तै, बंजरहा, मठिया, महुलिया, लतमरी, रामपुरखाप, चमरटोली रमपुरवा तथा छठघाट नाका हुँदै रातिको समयमा गाई, गोरु, राँगा, भैंसी, कपडा, चिनी, तेल र हार्डवेयरलगायतका सामान ओसारपसार हुने गरेको स्थानीयको दाबी छ।

यदि यी आरोप सत्य हुन् भने सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षा निकायको गस्ती, निगरानी, भन्सार जाँच तथा अवैध कारोबार नियन्त्रण गर्ने कार्यक्षमतामाथि गम्भीर प्रश्न उठ्छ। यस्ता गतिविधि रोक्न नियमित अनुगमन, निष्पक्ष अनुसन्धान र जिम्मेवार निकायको जवाफदेहिता आवश्यक देखिन्छ।
सर्वसाधारणलाई कडाइ, तस्करीमा संलग्न भनिएकालाई सहजता?
सीमावर्ती क्षेत्रका सर्वसाधारणले घरायसी प्रयोजनका लागि सामान ल्याउँदा जाँचको सामना गर्नुपर्ने तर ठूलो परिमाणमा सामान ओसारपसार गर्ने भनिएका व्यक्तिहरूले सहजता पाउने गरेको आरोपले सीमा सुरक्षा व्यवस्थाको निष्पक्षतामाथि प्रश्न खडा गरेको छ।
स्थानीयले तस्करी नियन्त्रणका लागि देखिने गरी सुरक्षा गस्ती बढाउन, भन्सार क्षेत्रको निगरानी प्रभावकारी बनाउन तथा सम्भावित मिलेमतोबारे निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। हुलाकी न्युजबाट
प्रकाशित मिति: २०२६-१०-१५ , समय : १२:००:४१ , 1 hour अगाडि