सप्तरीको दशगजामा प्रहरी टोलीमाथि तस्कर समूहको आक्रमण , असई यादव घाइते

मिति: २०२६-०६-१८ , समय : १४:१८:५२ , लोकेन्द्र यादव

फायल तस्बिर

लोकेन्द्र यादव

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका वडा न.५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजा नजिक नेपाल प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ। प्रहरी स्रोतका अनुसार बिहान करिब ४ बजे कपडा तस्करीमा संलग्न समूहले आक्रमण गरेको हो ।

सीमा स्तम्भनम्बर २४३ नजिक तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको हो । घटनामा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादवमाथि कुटपिट भएको स्रोतको दाबी छ ।

तस्कर समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप छ । घटनापछि सीमा क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले प्रहरीमाथि कुटपिट भएको पुष्टि गर्दै घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको बताए ।

उनले घटनाको विषयमा थप बुझ्ने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने काम भइरहेको जानकारी दिए ।

उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अनलाइनखबरबाट

प्रकाशित मिति: २०२६-०६-१८ , समय : १४:१८:५२ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित