जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी ठगी तथा जबर्जस्तीकरणी आरोपमा पक्राउ
मिति: २०२६-०७-०९ , समय : ०७:४६:२५ , गामघर डेस्क
मिति: २०२६-०७-०९ , समय : ०७:४६:२५ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
राजविराज ।
डाक्टर चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी ठगी जबरजस्ती करणी, यौन शोषण तथा ब्ल्याकमेलिङको गम्भीर आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार करिब ४/५ वर्षअघि स्थानीय तह निर्वाचनको क्रममा एक पीडित महिलासँग अधिकारीको भेट भएको थियो। त्यसपछि विभिन्न प्रलोभन देखाई प्रेम सम्बन्धको बहानामा पीडितलाई आफ्नो प्रभावमा पार्दै पटक–पटक आर्थिक सहयोगको माग गर्ने, दबाब र करकापमा पारेर जबरजस्ती करणी गर्ने तथा घटनाका क्रममा खिचिएका अश्लील फोटो र भिडियो आफ्नो मोबाइलमा राखी उल्टै पीडितसँग रकम माग्दै ब्ल्याकमेल गरेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार घटनापछि प्रतिवादी सम्पर्कविहीन भई फरार रहेका थिए। लामो समयसम्म खोजतलास गर्ने क्रममा उनलाई साेमबार सप्तरीको महादेवा गाउँपालिका–२ बाट नियन्त्रणमा लिएकाे हो।
पीडितले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दर्ता गरिएको छ। सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी हेमराज घिमिरेका अनुसार पक्राउ परेका अधिकारी माथि ठगी जबरजस्ती करणी, यौन शोषण तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
घटनाले राजनीतिक आवरणमा हुने यौन हिंसा, आर्थिक शोषण र ब्ल्याकमेलिङजस्ता गम्भीर अपराधप्रति पुनः गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गरिने बताएकाे छ। सप्तरी जागरणबाट
प्रकाशित मिति: २०२६-०७-०९ , समय : ०७:४६:२५ , 2 hours अगाडि