मधेसमा अझै राेकिएन तस्करी : कमला नदी बन्यो तस्करीको ‘जलमार्ग , सीमापार अवैध कारोबारको नयाँ शैली उजागर
मिति: २०२६-०७-१४ , समय : ०९:०९:५९ , गामघर डेस्क
मिति: २०२६-०७-१४ , समय : ०९:०९:५९ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / जनकपुर
गामघर डेस्क
जनकपुरधाम । नेपाल–भारत खुला सीमामा हुने अवैध तस्करीका नयाँ–नयाँ तरिका सार्वजनिक भइरहेका बेला यसपटक कमला नदीलाई नै मदिरा तस्करीको माध्यम बनाइएको तथ्य बाहिर आएको छ। भारतको बिहार राज्यस्थित जयनगर प्रहरीले कमला नदीमा बगाउँदै भारततर्फ लैजान खोजिएको ठूलो परिमाणको नेपाली मदिरा बरामद गरेपछि सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी सञ्जाल फेरि चर्चामा आएको छ।
मंगलबार राति गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा जयनगरको कमला रोड नजिक रहेको काली मन्दिर घाट क्षेत्रमा कमला नदीमा बगिरहेको अवस्थामा ४८ वटा प्लास्टिकका बोराभित्र प्याक गरिएको २,१६० लिटर नेपाली मदिरा बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ।
जयनगरका थानाध्यक्ष रमण कुमारका अनुसार नदीको बहावसँगै भारततर्फ बगिरहेको अवस्थामा मदिरा फेला परेको थियो। प्रहरीले सुरक्षात्मक रूपमा ती सबै बोरा नियन्त्रणमा लिएर बरामद गरेको हो।घटनाबारे जानकारी दिँदै डीएसपी सदानन्द कुमारले नेपालबाट नदीको बाटो प्रयोग गरेर मदिरा तस्करी भइरहेको गोप्य सूचना प्राप्त भएपछि विशेष टास्क फोर्स गठन गरिएको बताए। सोही सूचनाका आधारमा निगरानी बढाइएपछि ठूलो परिमाणमा मदिरा बरामद गर्न सफलता मिलेको उनको भनाइ छ। 
प्रहरीका अनुसार बरामद मदिरा ४८ वटा प्लास्टिकका बोरामा सावधानीपूर्वक प्याक गरिएको थियो। नदीको बहावसँगै भारततर्फ पु¥याएर बीच बाटोमा निकाल्ने योजनाअनुसार तस्करी गरिएको प्रारम्भिक अनुमान गरिएको छ।यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि अनुसन्धान तीव्र पारिएको भारतीय प्रहरीले जनाएको छ। छापामारी टोलीमा एसआई सुरज कुमार, अमित कुमार, मोनिका कुमारीलगायतका प्रहरी अधिकारी सहभागी थिए।
सीमावर्ती क्षेत्रमा मदिरा, लागूऔषध, कपडा, खाद्यान्न तथा अन्य सामानको तस्करी नौलो विषय होइन। तर पछिल्ला वर्षहरूमा तस्करहरूले सुरक्षा निकायको निगरानी छल्न नदी, कुलो तथा अन्य प्राकृतिक जलमार्ग प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको सुरक्षा अधिकारीहरू बताउँछन्।स्थलमार्गमा सुरक्षा जाँच कडा भएपछि तस्करहरूले नदीमा सामान बगाउने, बीच भागमा जाल वा डोरीको सहायताले नियन्त्रण गर्ने र भारततर्फ पुगेपछि पुनः निकाल्ने जस्ता नयाँ तरिका अपनाउन थालेको देखिन्छ। यसले तस्करी नियन्त्रणमा सुरक्षा निकायलाई थप चुनौती सिर्जना गरेको छ।
नेपाल र भारतबीच खुला सीमा, मूल्यमा हुने अन्तर, भारतका केही क्षेत्रमा मदिरासम्बन्धी कडा कानुनी व्यवस्था तथा सीमावर्ती क्षेत्रमा सक्रिय अवैध कारोबारी सञ्जालका कारण नेपाली मदिराको तस्करी हुने गरेको जानकारहरू बताउँछन्।विशेषगरी बिहारमा मदिरा बिक्री तथा सेवनमाथिको कानुनी प्रतिबन्धपछि नेपालबाट अवैध रूपमा मदिरा पु¥याउने प्रयास बारम्बार हुँदै आएको छ। सीमावर्ती नदी, खेत, ग्रामीण बाटो तथा मानव बोकाइमार्फत समेत मदिरा ओसार्ने घटनाहरू समय–समयमा सार्वजनिक हुने गरेका छन्। 
यो घटनाले नेपाल र भारतका सुरक्षा निकायबीच सूचनाको आदान–प्रदान, संयुक्त निगरानी तथा सीमावर्ती नदी क्षेत्रमा विशेष सुरक्षा रणनीति आवश्यक रहेको संकेत गरेको छ।तस्करी नियन्त्रणका लागि केवल एकपक्षीय कारबाही पर्याप्त नहुने भन्दै दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, नियमित गस्ती र सूचना साझेदारीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको छ।कमला नदीबाट बरामद भएको २,१६० लिटर नेपाली मदिराले सीमापार तस्करीको एउटा नयाँ स्वरूप उजागर गरेको छ। घटनामा संलग्न सञ्जालसम्म अनुसन्धान पुग्न सके मात्रै यस्ता अवैध गतिविधिमाथि प्रभावकारी नियन्त्रण सम्भव हुने सुरक्षा विश्लेषकहरूको भनाइ छ। नव जनप्रहारबाट
प्रकाशित मिति: २०२६-०७-१४ , समय : ०९:०९:५९ , 2 hours अगाडि