साउन महिनाको अन्तिम सोमबार : शिवालयमा भक्तजनको घुइँचो

मिति: २०२६-०८-१० , समय : १३:३१:५५ , निकेश शाह

तस्बिर : निकेश शाह / रबि शर्मा ( गामघर टिभि )

निकेश शाह

बरमझिया । आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि धुमधामसित मनाइँदै छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।
सप्तरी को कंकालिनी मन्दिर लगायत शिवालयहरुमा बिहानैदेखि पूजापाठ तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।
हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन पनि छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस्तै साउन महिनाको अन्तिम सोमबारका अवसरमा सप्तरीका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ। भगवान शिवप्रति श्रद्धा व्यक्त गर्दै भक्तजनहरूले जल, बेलपत्र, धतुरो अर्पण गरी पूजाआजा गरेका छन्।

सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथस्थित शम्भुनाथ मन्दिर, धर्मपुर–८ स्थित धर्मेश्वर महादेव मन्दिर, रुपनगर–३ स्थित त्रिमार्ग शिवालय, घोघनपुर बलुवास्थित भजनेश्वर महादेव, कञ्चनपुर–६ स्थित शिवालय तथा महदेवा, लालापट्टी लगायतका शिवालयहरूमा बिहानदेखि नै दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

धर्मपुर–८ को भीरमा धारापानी स्थल नजिक अवस्थित धर्मेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष साउन महिना तथा अन्य विशेष धार्मिक अवसरमा हजारौं श्रद्धालु पूजाआजा गर्न पुग्ने गर्दछन्। यहाँ धार्मिक मेला लाग्ने परम्परा पनि रहेको छ। धर्मपुर, रुपनगर, कञ्चनपुर, बदगामा, बरमझिया, ठेलिया, घोघनपुर, जगतपुर, बकधुवा लगायतका क्षेत्रबाट भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन्।

हिन्दू धर्मअनुसार साउन महिना भगवान शिवको आराधनाका लागि विशेष पवित्र मानिन्छ। विशेषगरी सोमबारका दिन भक्तजनहरूले उपवास बस्ने, शिवलिङ्गमा जलाभिषेक गर्ने तथा बेलपत्र, धतुरो र फूल अर्पण गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने धार्मिक परम्परा रहेको छ।

प्रकाशित मिति: २०२६-०८-१० , समय : १३:३१:५५ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित