सप्तरीको बोदेबरसाइनमा तस्करीका सामान : दिउँसो पक्राउ, राति फरक मुचुल्का ! एसपीमाथि समेत छानबिनको प्रश्न ?

मिति: २०२६-०८-१८ , समय : ०७:३७:०४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सप्तरी । सप्तरीको बोदेबरसाइनमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको सामान र मोटरसाइकल बरामद भएको घटनाले प्रहरीको कारबाही प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ। स्थानीयले सामानसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको दाबी गरिरहेका बेला प्रहरीले भने घटनालाई बेवारिसे सामान बरामद भएको रूपमा सार्वजनिक गरेको छ।
घटनाको समय, स्थान, पक्राउको विषय र बरामदगीको प्रकृति स्थानीयको भनाइ र प्रहरीको आधिकारिक विवरणमा फरक देखिएपछि यो विषय थप विवादित बनेको हो। त्यसमाथि पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको र त्यसका लागि माथिल्लो तहबाट निर्देशन आएको दाबीसमेत सार्वजनिक भएपछि घटनाले प्रहरी संगठनभित्रको जवाफदेहितामाथि प्रश्न खडा गरेको छ।घटनासम्बन्धी उजुरी प्रदेश प्रहरी कार्यालयसम्म पुगेको र प्रहरी स्रोतका अनुसार विषयमा आन्तरिक रूपमा छानबिन भइरहेको बताइएको छ। यद्यपि, आरोप प्रमाणित भइसकेको अवस्था भने छैन।
दिउँसोको घटना कसरी बन्यो मध्यरातको ?
स्थानीयका अनुसार बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँमा गत साउन १८ गते दिउँसो करिब ३ः३० बजे भारतबाट भन्सार छली गरी ल्याइएको सामानसहित एक व्यक्तिलाई स्थानीय केही युवाले नियन्त्रणमा लिएका थिए।उनीहरूले उक्त व्यक्तिसहित सामान र मोटरसाइकल इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा बुझाएको स्थानीयको दाबी छ।स्थानीयको भनाइअनुसार घटनामा सामान बोकेर ल्याउने भनिएका व्यक्ति सुनिल मण्डललाई नियन्त्रणमा लिइएको थियो। उनलाई छुटाउन मुख्य कारोबारी भनिएका देव यादव प्रहरी कार्यालय पुगेको र त्यसक्रममा यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको दाबी गरिएको छ।तर प्रहरीले सार्वजनिक गरेको विवरण भने यसभन्दा बिल्कुलै फरक छ।जिल्ला प्रहरी कार्यालय सप्तरीले साउन २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा साउन १९ गते राति १२ः३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको रातो रङको १६० सीसी एक्स्ट्रिम मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद गरिएको उल्लेख गरेको छ।
प्रहरीका अनुसार प्रहरी टोलीलाई देख्नेबित्तिकै मोटरसाइकल र बोरा छाडेर तस्करहरू फरार भएका थिए। त्यसपछि बोराहरू खोलेर जाँच गर्दा विभिन्न मोबाइलका सामान फेला परेको थियो।प्रहरीले बरामद मोटरसाइकल तथा सामानको अनुमानित मूल्य ३ लाख १२ हजार ३ सय रुपैयाँ रहेको जनाएको छ।यहीँबाट मुख्य विवाद सुरु हुन्छ—स्थानीयले दिउँसो सामानसहित व्यक्ति पक्राउ परेको दाबी गरिरहेका छन् भने प्रहरी अभिलेखमा घटना मध्यरातको बेवारिसे बरामदगीका रूपमा देखाइएको छ।
‘बेवारिसे’ बनाइयो कि साँच्चिकै फरार भए ?
स्थानीयको दाबीअनुसार सामानसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई प्रहरी कार्यालयमा बुझाइएको थियो। तर पछि उनलाई छाडिएको र घटनाको मुचुल्कासमेत वास्तविक घटनाभन्दा फरक बनाइएको आरोप छ।स्थानीय सुदी कुमार यादवले प्रहरीको आधिकारिक विवरणमाथि प्रश्न उठाएका छन्।“दिउँसो भएको घटना प्रहरीले कसरी रातिको देखायो भन्नेमा हामी छक्क परेका छौँ,” यादवले भने, “सर्वसाधारणलाई यसरी गलत विवरण दिएर झुक्याउन मिल्दैन।”स्थानीयको यो दाबी सही हो भने घटना केवल तस्करीको सामान बरामद भएको विषयमा सीमित रहँदैन। यसले पक्राउ प्रक्रिया, बरामदगी मुचुल्का, प्रहरी अभिलेख र सार्वजनिक सूचना प्रणालीमै प्रश्न उठाउने अवस्था सिर्जना गर्छ।तर प्रहरीले भने आफूलाई बेवारिसे अवस्थामा सामान फेला परेको जानकारी मात्र आएको बताउँदै आएको छ।
एसपी खड्कामाथि किन उठ्यो प्रश्न ?
घटनामा पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको भन्ने आरोपसँगै सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काको भूमिकामाथि समेत प्रश्न उठेको छ।स्थानीय तथा स्रोतका अनुसार पक्राउ परेका व्यक्तिलाई छाड्ने क्रममा माथिल्लो तहबाट निर्देशन आएको दाबी गरिएको छ। यही विषयलाई लिएर प्रदेश प्रहरी कार्यालयमा उजुरीसमेत परेको बताइएको छ।प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एसपी भेषराज रिजालले घटना सम्बन्धमा जानकारी प्राप्त भएको बताएका छन्। प्रहरी स्रोतका अनुसार घटनाबारे आन्तरिक रूपमा बुझ्ने काम भइरहेको छ।एसपी रूपक खड्काले आफूलाई भने बेवारिसे अवस्थामा सामान फेला परेको जानकारी मात्र आएको बताएका छन्। उनले घटनाबारे थप बुझिरहेको र आवश्यक परे छानबिन समिति गठन गर्ने संकेत दिएका छन्।“म कमाण्डर हो, फिल्डमा फरक विषय हुन्छ, के भएको बुझ्दै छु,” खड्काको भनाइ छ।उनले पक्राउ गरेर छाडिएको विषयमा प्रमाण वा जानकारी प्राप्त भए पुनः कारबाही हुने बताएका छन्।
पक्राउ परेका भनिएका व्यक्तिको दाबीले थपियो रहस्य
घटनालाई थप गम्भीर बनाउने अर्को पक्ष पक्राउ परेको दाबी गरिएका व्यक्तिहरूको भनाइ हो।तस्करीमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूले आफूहरूलाई प्रहरीले पक्राउ गरेर कार्यालयमा ल्याएको र पछि छाडेको दाबी गरेका छन्। उनीहरूले प्रहरीलाई तस्करीको बदलामा नियमित रकम बुझाउने गरिएको आरोपसमेत लगाएका छन्।उनीहरूको भनाइ समेटिएको अडियोसमेत सार्वजनिक भएको दाबी गरिएको छ। उक्त अडियोमा पक्राउ परेका भनिएका भरिया र उनलाई छुटाउन पुगेका कारोबारी भनिएका व्यक्तिबीचको घटनाक्रमबारे कुराकानी भएको बताइएको छ।तर अडियोको वास्तविकता, त्यसमा रहेका व्यक्तिको पहिचान र दाबीको स्वतन्त्र पुष्टि भने सम्बन्धित निकायको अनुसन्धानबाट हुन बाँकी छ।यस्ता आरोप सार्वजनिक भएपछि अब अनुसन्धानको मुख्य प्रश्न केवल “सामान कसको थियो ?” भन्नेमा सीमित हुँदैन। सामान कहाँबाट आयो, कसले नेपाल भित्र्यायो, कसको लागि ल्याइएको थियो, कसले लगानी गरेको थियो र प्रहरी कार्यालयसम्म पुगेको घटनापछि के भयो ? भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने देखिन्छ।
वडाध्यक्ष पनि भन्छन्– विवरण फरक छ
बोदेबरसाइन–५ का वडा अध्यक्ष मो. मजिवुर रहमानले समेत घटनाबारे आफूलाई जानकारी रहेको बताएका छन्।उनका अनुसार स्थानीय युवाहरूले कारोबारीको सामान नियन्त्रणमा लिएको विषयमा आफूहरूलाई जानकारी गराएका थिए। तर प्रहरीको आधिकारिक विवरण र स्थानीय युवाहरूको भनाइबीच फरक देखिएको उनले बताएका छन्।स्थानीय जनप्रतिनिधिको भनाइले पनि घटनाबारे स्वतन्त्र छानबिनको आवश्यकता थप बलियो बनाएको छ।
तस्करीको जालो र प्रहरीको भूमिकामाथि पुरानो प्रश्न
भारतसँग खुला सीमा जोडिएको सप्तरीमा भन्सार छली गरी सामान ल्याउने समस्या नयाँ होइन। सीमावर्ती क्षेत्रका विभिन्न बाटो प्रयोग गरेर कपडा, मोबाइलका पार्टपुर्जा, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य सामान नेपाल भित्र्याउने गरेको आरोप समय–समयमा लाग्दै आएको छ।तर तस्करी नियन्त्रणको जिम्मेवारी बोकेको प्रहरी निकायमाथि नै तस्करलाई संरक्षण दिएको आरोप लाग्नु सुरक्षा संयन्त्रका लागि गम्भीर विषय हो।यदि कुनै व्यक्ति तस्करीको आरोपमा पक्राउ परेको हो भने उसको बयान, सामानको स्रोत, बरामदगी मुचुल्का, मोटरसाइकलको स्वामित्व तथा सामानको गन्तव्यसम्म अनुसन्धान पुग्नुपर्छ। त्यसको सट्टा पक्राउ परेको भनिएको व्यक्ति नै कार्यालयबाट छुट्यो र घटनालाई बेवारिसे बरामदगीका रूपमा अभिलेख गरिएको हो भने त्यसको जिम्मेवारीसमेत निर्धारण हुनुपर्ने हुन्छ।अर्कोतर्फ, स्थानीयले लगाएको आरोप गलत हो भने प्रहरीले घटनाको वास्तविक विवरण, बरामदगीको प्रक्रिया र फरार व्यक्तिबारे स्पष्ट प्रमाण सार्वजनिक गरेर आरोपको खण्डन गर्न सक्नुपर्छ।
अब छानबिनको केन्द्रमा चार प्रश्न
बोदेबरसाइनको यो घटनामा निष्पक्ष छानबिन आवश्यक देखिनुको कारण प्रहरीको आधिकारिक विवरण र स्थानीयको दाबीबीच देखिएको असामान्य अन्तर हो।छानबिनले कम्तीमा चार विषय स्पष्ट पार्नुपर्ने देखिन्छ, पहिलो, घटना साउन १८ गते दिउँसो भएको हो कि साउन १९ गते मध्यरातमा ?दोस्रो, सामानसहित कुनै व्यक्ति पक्राउ परेको थियो कि थिएन ?तेस्रो, पक्राउ परेको भए उसलाई किन र कसको निर्देशनमा छाडियो ?चौथो, बरामदगी मुचुल्कामा उल्लेख गरिएको विवरण घटनाको वास्तविक अवस्थासँग मेल खान्छ कि खाँदैन ?यी प्रश्नको उत्तर प्रमाणसहित सार्वजनिक नभएसम्म बोदेबरसाइनको घटना शंकाको घेराबाट बाहिर आउन कठिन देखिन्छ।
सामान बरामदभन्दा ठूलो विषय ‘प्रक्रियाको पारदर्शिता’
तस्करी नियन्त्रणमा प्रहरीले सामान बरामद गर्नु मात्रै उपलब्धि होइन। बरामद भएको सामानसँग जोडिएको सम्पूर्ण सञ्जाल पहिचान गर्नु, संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्नु र अनुसन्धानका हरेक चरणलाई पारदर्शी बनाउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।बोदेबरसाइनमा अहिले देखिएको विवादले यही प्रश्न उठाएको छ—यदि प्रहरीको अभिलेख र घटनास्थलमा उपस्थित स्थानीयको दाबीबीच यति ठूलो अन्तर देखिन्छ भने वास्तविकता के हो ?यो प्रश्नको जवाफ प्रहरीको आन्तरिक स्पष्टीकरणले मात्र पुग्दैन। निष्पक्ष छानबिन, घटनास्थलका प्रत्यक्षदर्शीको बयान, प्रहरी कार्यालयको अभिलेख, सीसीटीभी फुटेज, बरामदगी मुचुल्का, ड्युटीमा खटिएका प्रहरीको विवरण तथा पक्राउ परेको भनिएका व्यक्तिको बयानलाई आधार बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने देखिन्छ।
किनकि यो घटना यदि केवल ३ लाख १२ हजार ३ सय रुपैयाँको सामान बरामद भएको विषय मात्रै हो भने एउटा सामान्य तस्करी नियन्त्रणको घटना हो। तर यदि पक्राउ परेको व्यक्तिलाई छाडेर वास्तविक घटनालाई फरक ढंगले अभिलेख गरिएको पुष्टि भयो भने यो विषय तस्करीभन्दा धेरै माथि उठेर प्रहरी प्रशासनको विश्वसनीयता र जवाफदेहितासँग जोडिनेछ।त्यसैले बोदेबरसाइन घटनामा अहिले सबैभन्दा ठूलो आवश्यकता आरोप–प्रत्यारोप होइन, प्रमाणमा आधारित निष्पक्ष छानबिन र वास्तविकता सार्वजनिक गर्नु हो। नव जनप्रहारबाट

प्रकाशित मिति: २०२६-०८-१८ , समय : ०७:३७:०४ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित