तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन

मिति: २०२६-०८-२१ , समय : २२:५२:३६ , निकेश शाह

तस्बिर : सामाजिक सन्जालबाट

निकेश शाह

काठमाडौं । मधेस प्रदेशको बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।

अधिकारकर्मी तथा गरिमाका आफन्तहरूले प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्। प्रदर्शनकारीहरूले ‘गरिमालाई न्याय देऊ’ लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
गरिमालाई न्यायको माग गर्दै उनको परिवार र स्थानीयले बारामा पनि निरन्तर प्रदर्शन गर्दै आएका छन्। मृतक बालिकाका आमा–बुवासहित परिवारका सदस्य सडकमा धर्नामा बसेपछि वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध भएको छ।

बिहीबार राति स्थानीय प्रशासन र स्थानीय व्यक्तिहरूबीच सहमति भएको बताइए पनि मृतक बालिकाको परिवारले आफूहरूको अनुमति र सहभागिताबिनै सहमति गरिएको भन्दै त्यसलाई अस्वीकार गरेको छ।

मृतक गरिमाका बुबा मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम घटनास्थलमा आएर बालबालिकामाथि हुने यस्ता जघन्य अपराधसम्बन्धी नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्।

यता परिवारले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिनुपर्ने तथा गरिमाले न्याय पाउनुपर्ने माग गर्दै आन्दोलन जारी राखेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०८-२१ , समय : २२:५२:३६ , 26 minutes अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित