मधेस प्रदेश : मोटरसाइकल दुर्घटनामा दुई जना युवकको मृत्यु, एक जना गम्भीर घाइते

मिति: २०२५-०६-१३ , समय : ११:२१:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको पर्साकाे वीरगञ्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जना युवाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्युु हुनेहरुमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादव रहेका छन्। उनीहरू सवार मोटरसाइकल वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार शुक्रबार बिहान ५ बजेतिर भुस लोड गरिरहेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रक सडकमा बिग्रिएर रोकिएको थियो। सोही समयमा सिर्सिया बाट ड्राइपोर्टतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै नारायणी अस्पताल पुर्‍याइएका रामाकान्त र विजयको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। दुर्घटनामा २२ वर्षीय विजयकुमार यादव गम्भीर घाइते भएका छन् र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले नारायणी अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक घटनास्थलमा ट्रक छाडेर फरार भएको प्रहरीले जनाएको छ। हाल चालकको खोजी जारी रहेको डीएसपी लम्सालले बताए।

यता प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ताको वातावरण सिर्जना गरेको छ।

प्रकाशित मिति: २०२५-०६-१३ , समय : ११:२१:१८ , 5 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित