सप्तरीमा पनि विभिन्न कार्यक्रमका साथ १० औं संविधान दिवस मनाइयाे

मिति: २०२५-०९-१९ , समय : १३:४९:०३ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । संविधान दिवस २०८२ मुल समारोह सप्तरीद्वारा संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरी तथा विरामीलाई फलफूल वितरण गरिएको हो ।
संविधान दिवसको अवसरमा सप्तरी सदरमुकाम राजविराजमा प्रभात फेरि तथा गजेन्द्रनारायण सिंह अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
उक्त अवसरमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
¥यालीमा राजनीतिक दलका प्रतिनिधिहरुको भने सहभागिता रहेको थिएन । जेनजी पुस्ताको विद्रोह पछि देशमा भएको असहज परिस्थितिका कारण संविधान दिवसको उत्साहमा कमी आएको सहभागीहरु बताउँछन् ।
त्यसैगरी, संयुक्त लोकतान्त्रिक मोर्चा सप्तरीले संविधानको विरोधमा राजविराजका विभिन्न स्थानमा कालो पट्टी बाधेर प्रदर्शन गरेको छ । उनीहरूले २०७२ सालमा जारी भएको संविधानलाई मधेशी जनताको भावना र अधिकार बिनाको बताएर पुर्नलेखन तथा संशोधनको माग गरेका छन् । मोर्चाका नेता गजेन्द्र मण्डलका अनुसार, विरोध प्रदर्शनमा विभिन्न नाराजुलुससमेत गरिएको थियो ।
२०७२ साल असोज ३ मा दोस्रो संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भए पनि मधेशी दलहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै संविधान दिवसलाई कालो दिवसको रूपमा मनाउँदै आएका छन् ।
सहभागीहरूका अनुसार, हालैको जेनजी पुस्ताको आन्दोलनपछि देशमा उत्पन्न असहज परिस्थितिले संविधान दिवसको उत्साहमा केही कमी आएको महसुस भएको छ ।

प्रकाशित मिति: २०२५-०९-१९ , समय : १३:४९:०३ , 4 hours अगाडि