सप्तरीमा हलुवाई समाजका महिलाहरु पहिलो पटक पुरुषसँगै बसेर सामुहिक भोजन गरे

मिति: २०२५-११-१२ , समय : २२:२६:२८ , निकेश साह

तस्बिर : निकेश साह / गामघर डेस्क

निकेश साह

बरमझिया । नेपालको कानूनले महिला- पुरूष दुवैलाई समान अधिकार दिएपनि मधेशी मूलका महिलाहरु सार्वजनिक भोजहरुमा विरलै सहभागी हुने गरेको पाइन्छ। तर महिलाले सार्वजनिक भोजमा सहभागी हुनु हुँदैन भन्ने कटित सामाजिक मूल्य मान्यताका कारण महिलाहरु भोजभतेरमा सहभागी हुनबाट वञ्चित हुने गरेका थिए। तर अब हलुवाई समाजका महिलाहरु भने सार्वजनिक भोजभतेरमा पुरुषससंगै सहभागी हुन पाउने भएका छन्।
हलुवाई समाज नेपालले हलुवाई समाजका महिलाहरु पुरुषसँगै वा पुरुषको अनुपस्थितिमा सहभागी भएर भोजभतेर खान पाउने घोषणा गरेको छ । स्वर्गिय गायत्री देवी साह हलुवाईको १३औं दिनको पुण्य तिथिको अवसरमा सप्तरीको रूपनी गाउँपालिका वडा न.३ स्थित काटैयामा बुधबार आयोजित श्रद्राञ्जली सभामा हलुवाई समाजका महिलाहरु सार्वजनिक भोजभतेरमा सहभागी हुन पाउने घोषणा गरिएको हो ।
हलुवाई समाजका देवान राजु साहको अध्यक्षता तथा केन्द्रीय महासचिव शिवजी साहको प्रमुख आतिथ्य आयोजित श्रद्राञ्जली सभामा घोषणापछी महिलाहरुलाई पुरूष सँगै सामूहिक भोजनमा सहभागीताको लागि आग्रह गरिएको थियो । विभिन्न जिल्लाका हलुवाई समाजका अगुवा तथा अन्य जातजातिहरुका पदाधिकारी सहभागी भोजमा महिला पुरूषसँगै बसेर भोजन गरिएको थियो । सामूहिक भोजमा सहभागी महिलाहरु निकै उत्साहित देखिएका थिए ।
श्रदाञ्जली सभामा सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, आमा संचार प्राधिकरण मधेश प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादवले हलुवाई समाजले सामाजिक बन्धन तोड्दै गरेको घोषणाको प्रसंशा गरे । उनीहरूले बर्तमान परिवर्तित अवस्थामा समयको माग अनुसार समाजलाई रूपान्तरण गरेको भन्दै खुशी व्यक्त गरे । स्व. गायत्री देवी साह हलुवाईको आत्माको चिरशान्तिको कामना गर्दै उनीहरुले शोकाकुल परिवारप्रति सम्वेदना समेत व्यक्त गरेका थिए ।
साेहि कार्यक्रममा हलुवाई समाज नेपाल मधेश प्रदेश अध्यक्ष राम शंकर साह, सप्तरी जिल्ला अध्यक्ष चण्देश्वर साह, सिरहा अध्यक्ष भारत साह, धनुषा अध्यक्ष उमेश साह, राजधोव समाजका केन्द्रीय सभापति भिखो माझी लगायतकाले बोल्दै महिलाले सामूहिक भोजन गर्न पाउने घोषणाले महिला पुरूष बराबरी हक अधिकार प्राप्तिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
साे कार्यक्रममा विभिन्न जाति तथा संस्थाद्वारा स्वर्गिय गायत्री देवी साहको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई श्रदाञ्जली पत्र प्रदान गरेका थिए । उक्त कार्यक्रम सञ्चालन हलुवाई समाज नेपाल सप्तरीका सचिव भागवानी साहले गरेका थिए ।
२०२८ सालमा जन्मिएकी साहको कार्तिक १४ गते ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको १३ औं दिनको पुण्यतिथिको अवसरमा आयोजित १५ हजार भन्दा बढी सहभागी शान्ति भोजमा हलुवाई समाजका महिलाहरु पहिलो पटक पुरुषसँगै बसेर भोजन गरेको स्वर्गीय साहका भतिजा समेत रहेका समाजका संस्थापक महासचिव महेश प्रसाद साहले जानकरी दिए ।

प्रकाशित मिति: २०२५-११-१२ , समय : २२:२६:२८ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित