सप्तरीको कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमणबाट एक किसानकाे मृत्यु
मिति: २०२५-१२-०४ , समय : १४:०९:१६ , निकेश साह
मिति: २०२५-१२-०४ , समय : १४:०९:१६ , निकेश साह
तस्बिर : निकेश साह / गामघर टिभि
निकेश साह
बरमझिया । सप्तरीको कञ्चनरुप नगरपालिका–५ का करिब ६५ वर्षीय किसान नारायण खंगको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। बिहीबार बिहान धान खेतमै दाइ गरेर सुकाइराखिएको धान कुरेर बस्ने क्रममा उनी सुतिरहेका बेला जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार खंग बिहानै खेतमा बिछ्याइएको धान जोगाउन पुगेका थिए। उनी धानको छेउमै सुतिरहेका बेला कोशी टप्पु वन्यजन्तु आरक्षतर्फबाट आइपुगेको जंगली हात्तीले अचानक कुल्चेर गम्भीर रूपमा घाइते बनाएको थियो। स्थानीयबासीले घटनापछि उद्धार प्रयास गरे पनि खंगलाई बचाउन सकेनन्।

यता घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली पुगेर आवश्यक प्रक्रिया अगाडि बढाएको जनाइएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार पछिल्ला वर्षहरूमा कञ्चनरुप क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दो छ। विशेषगरी बाली भित्र्याउने समयमा हात्ती गाउँ–गाउँ प्रवेश गर्ने, खेतबारी डुबाइदिने तथा किसानलाई आक्रमण गर्ने घटनाहरू दोहोरिन थालेका छन्।
थप चिन्ताजनक कुरा, पछिल्ला पाँच वर्षमा कञ्चनरुप नगरपालिकामा बाली जोगाउने क्रममा एक दर्जनभन्दा बढी किसानले ज्यान गुमाइसकेका छन्। स्थानीयहरूले वन्यजन्तु नियन्त्रण र सुरक्षाका लागि तत्काल प्रभावकारी उपाय खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित मिति: २०२५-१२-०४ , समय : १४:०९:१६ , 21 hours अगाडि