काठमाडौंमै नक्कली नोटको कारखाना : छापिँदै थिए भारतीय रुपैयाँ
मिति: २०२६-०१-०६ , समय : ०९:१७:३८ , गामघर डेस्क
मिति: २०२६-०१-०६ , समय : ०९:१७:३८ , गामघर डेस्क
तस्बिर : जिल्ला प्रहरी परिसर काठमाडौं
गामघर डेस्क
काठमाडौं । राजधानीमै नक्कली नोट छाप्ने कारखाना सञ्चालन भइरहेको खुलासा भएको छ । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित एक घरमा छापा मारेर प्रहरीले नक्कली नोट छाप्ने कारखाना फेला पारेको हो । छापाको क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घर भएका २८ वर्षीय रवी कुमार श्रीवास्तव रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्ध वृत्तको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना भारतीय नक्कली नोट छाप्न प्रयोग हुने मेसिन काठमाडौंसम्म ल्याउने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।छापाका क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल, भारु ५ सय दरका ३१७ थान नक्कली नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोललगायत नक्कली नोट छाप्न प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: २०२६-०१-०६ , समय : ०९:१७:३८ , 1 week अगाडि