लौकही गोली काण्ड : सशस्त्रका एसपीसहित एकैपटक ३६ जना तानिए

मिति: २०२६-०१-०७ , समय : १४:३३:३३ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीको कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएपछि सशस्त्र प्रहरी संगठनभित्र व्यापक हेरफेर गरिएको छ ।घटनाको गम्भीरता बढ्दै गएपछि सशस्त्र प्रहरी बलको ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई एकैपटक तानिएको हो ।

घटनापछि स्थानीयवासी आक्रोशित भई सडक प्रदर्शनमा उत्रिएपछि ४ नम्बर गणका गणपति एसपी निर्मल कुमार थापालाई सशस्त्र प्रहरी बलको बराह बाहिनी, पकलीमा तानिएको छ ।उनको स्थानमा अर्का एसपी ज्ञानमणि पौडेललाई जिम्मेवारी दिइएको छ । त्यसैगरी बोडर आउट पोस्ट लौकहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मनिष कटवालसहित ३५ जना सशस्त्र प्रहरीको सम्पूर्ण सेट परिवर्तन गरिएको छ। कटवालको स्थानमा निरीक्षक भुपाल खड्कासहित नयाँ टोली खटाइएको हो ।

सिटी सफारी चालक विजय साहमाथि गोली प्रहार गर्ने सशस्त्र प्रहरी हबल्दार नवराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
गत बुधबार राति भारतबाट तस्करीको चिनी लिएर नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरी बलको ३ नम्बर पोस्ट नजिक ड्युटीमा रहेका खतिवडाले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।घटनाको सत्यतथ्य पत्ता लगाउन सशस्त्र प्रहरी प्रधान कार्यालयले एसएसपी रबिनराज कर्णजितको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ भने जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । दुबै समितिले छानबिन गरिरहेको छ ।

प्रकाशित मिति: २०२६-०१-०७ , समय : १४:३३:३३ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित