चिसोका कारण सप्तरीमा थप एक जनाको कठयाङ्गिएर मृत्यु
मिति: २०२६-०१-०९ , समय : १९:५५:०१ , गामघर डेस्क
मिति: २०२६-०१-०९ , समय : १९:५५:०१ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.३ गोरपारका ३२ वर्षीय उमेश खंगको चिसोका कारण कठयाङ्गिएर मृत्यु भएको छ । गरिबीका कारण चिसो मौसमको पर्वाह नगरी ज्याला मजदुरी गर्दै परिवारको जीवन यापन गर्दै आएका खंगको असामयिक निधनले परिवार बिचल्लीमा परेको स्थानीयले बताएका छन् ।
स्थानीय पत्रकार किशोर पासवानका अनुसार खंग कञ्चनरुप नगरपालिका–१२ स्थित एक घरमा टाबिङ तथा ढलानको काम गरिरहेका बेला अचानक पेट दुख्ने र हातखुट्टा बांगिन थालेपछि गम्भीर अवस्थामा पुगेका थिए । साथीसँग काम गरिरहेका मजदुरहरूले तत्काल ठेकेदारलाई जानकारी गराएपछि उहाँलाई धर्मेश्वर अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएको बताएपछि कञ्चनपुर नगर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
कञ्चनपुर नगर अस्पतालका चिकित्सक उदय चौधरीका अनुसार खंग अस्पताल ल्याइँदासम्म मृत अवस्थामा थिए । उहाँले जाँच गर्दा नाडी र मुटुको चाल केही पनि नचलेको बताउनु भयो । डा. चौधरीका अनुसार प्रारम्भिक अनुमान अनुसार उहाँको मृत्यु हृदयघातका कारण भएको हुन सक्ने बताउनु भयो ।
मृतक उमेश खंगकी पत्नि र २० दिनकी छोरी रहेको आम्दानीको एकमात्र सहारा गुमेपछि परिवार गम्भीर समस्यामा परेको स्थानीय बताउँछन् । गरिबीका कारण चिसोमा पनि काम गरेर परिवार पालिरहेका खगंको पत्नि र नाबालक छोरीको अवस्था अत्यन्तै दयनीय रहेको स्थानीयबताउँछन ।
उक्त घटनापछि स्थानीय बासिन्दाले मजदुरहरूको स्वास्थ्य सुरक्षा, चिसो मौसममा काम गर्ने श्रमिकका लागि आवश्यक सावधानीका साथै पीडित परिवारलाई राहत तथा सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रकाशित मिति: २०२६-०१-०९ , समय : १९:५५:०१ , 6 days अगाडि