निर्वाचन विशेष : मधेश जनविद्रोहबाटै विभेदमा पारिएका समुदायको पहिचान स्थापित भएको उपेन्द्र यादवको भनाइ

मिति: २०२६-०२-०६ , समय : १९:५१:०६ , गामघर डेस्क

गामघर डेस्क

विष्णुपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहबाटै विभेदमा पारिएका जाती तथा समुदायको पहिचान, अधिकार, स्वाभिमान, सम्मान र प्रतिनिधित्व स्थापित भएको बताएका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७ स्थित इटहरीमा शुक्रवार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, त्यसैले बाँकी अधिकारप्राप्तिका लागि जनताको मतको असली हकदार हामी नै हौँ ।’ मधेश जनविद्रोहबाटै मधेशी मधेशी, महिला, दलित, आदिवासी, जनजाती, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको आरक्षण र प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै उनले अबको लडाई अधिकार र विकासका लागि हुने बताए ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल हाल जसपा नेपालको नेतृत्वमा सङ्घर्ष हुनु अघिको अवस्थाबारे स्मरण गराउँदै जसपा नेपालका अध्यक्ष यादवले भने ‘सरकारी कार्यालयहरुमा मधेशी चेहरा नगण्य जस्तै थियो तर अहिले सरकारी कार्यालयहरुमा मधेशी चेहरा पनि देखिन थालिएको छ, यतिमात्र होइन, सेना पुलिस लगायतका सुरक्षा अङ्गहरुमा समेत समावेशिता र प्रतिनिधित्व देखिन थालेको छ, यो मधेश विद्रोहको देन हो ।’
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले शोषित उत्पीडित जनताको अधिकारप्राप्तिका आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिँदै जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र विकासीय बजेट विनियोजन आवश्यक रहेको बताए । मधेशमा अझैं अशिक्षा एवम् चरम गरिबी ब्याप्त रहेको बताउँदै अध्यक्ष यादवले भने ‘जनसङ्ख्याको आधारमा हाम्रो भागेदारी आवश्यक छ, सङ्घीय संरचनामा प्रदेशहरु त स्थापना भयो तर अधिकार छैन, त्यसैले अधिकारसम्पन्न प्रदेश अब हामी बनाउँछौं ।’
साे चुनावी छलफल तथा भेंटघाटका क्रममा जसपा नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवम् पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य चन्देश्वर सदा, राजविराज नगरपालिकाका मेयर भीमराज यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव जयनारायण यादव, समानुपातिक उम्मेदवारत्रय चुल्हाइ मण्डल, निर्मल कुमारी मण्डल, माल्ती सदा, शान्ता मेहता, सरस्वती इशर, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, चर्चित हास्य कलाकार भूपेन्द्र कुमार मण्डल, समाजवादी दतित संघका जिल्ला अध्यक्ष अशोक राम लगायतले मन्तव्य व्यक्त गरे ।
शुक्रबारै विष्णुपुर गाउँपालिकाको वडा नम्बर ६ गोरगामा, वडा नम्बर २ सिम्राहा लगायतका गाउँहरुमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष यादव लगायतका नेताहरु सहभागी भएका छन् ।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : १९:५१:०६ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित