निर्वाचनपछि मधेस प्रदेशका सीमावर्ती क्षेत्रहरूमा तस्करी मौलाउँदै
मिति: २०२६-०३-२१ , समय : २०:०२:५९ , गामघर डेस्क
मिति: २०२६-०३-२१ , समय : २०:०२:५९ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लामा निर्वाचन सम्पन्न भएसँगै सीमावर्ती क्षेत्रहरूमा तस्करी गतिविधि पुनः मौलाउन थालेको देखिएको छ । पछिल्लो घटनाले जिल्लामा अवैध भण्डारण र चोरी–छलका धन्दा संगठित रूपमा सञ्चालन भइरहेको संकेत दिएको छ । मधेश प्रदेश प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ मा गरेको छापामार कारबाहीमा ठूलो परिमाणमा अवैध सामान बरामद भएपछि यस विषयले थप गम्भीरता पाएको हो ।
प्रहरीका अनुसार तुलसीयाही प्रहरी चौकीदेखि करिब ४०० मिटर पूर्वतर्फ शिव सरन महतोको कुटानी–पिसानी मिल पछाडि गोप्य रूपमा लुकाएर राखिएको अवस्थामा १२ वटा बोरामा विभिन्न प्रकारका जुत्ता, मोबाइल कभर र लेडीज चप्पल फेला परेको हो । बरामद गरिएका सामग्रीहरू विभिन्न ब्रान्ड र मोडलका रहेका छन्, जसको अनुमानित मूल्य करिब ७ लाख रुपैयाँभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
उक्त स्थान ईलाका प्रहरी कार्यालय फुलगामाबाट करिब ७ किलोमिटर टाढा पर्छ । दुर्गम तथा निगरानी कम हुने क्षेत्र रोजेर तस्करहरूले यस्तो अवैध भण्डारण गर्ने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरी स्रोतका अनुसार सामानहरू भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ ।
मधेश प्रदेश प्रहरीले गोप्य सूचनाका आधारमा उक्त स्थानमा छापा हानेको जनाएको छ । प्रहरी टोली पुग्नासाथ त्यहाँ कुनै व्यक्ति फेला नपरेको भए पनि ठूलो परिमाणमा सामान भेटिनुले संगठित तस्करी सञ्जाल सक्रिय रहेको स्पष्ट भएको प्रहरीको भनाइ छ । बरामद सामानको स्रोत, ढुवानी मार्ग र यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान तीव्र पारिएको जनाइएको छ । 
प्रहरीका अनुसार पछिल्लो समय धनुषाका विभिन्न नाकाहरू हुँदै दैनिक रूपमा अवैध सामान ओसारपसार भइरहेको छ । विशेषगरी साना–साना नाकाहरू प्रयोग गरेर भन्सार छली गरी सामान भित्र्याउने र जिल्लाका विभिन्न स्थानमा भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले राज्यलाई ठूलो मात्रामा राजश्व घाटा पु¥याइरहेको छ ।
स्थानीय स्रोतहरूका अनुसार निर्वाचनको समयमा सुरक्षा निकायहरू राजनीतिक गतिविधिमा केन्द्रित हुँदा सीमावर्ती क्षेत्रको निगरानी कमजोर भएको थियो । सोही अवस्थाको फाइदा उठाउँदै तस्करहरूले आफ्नो सञ्जाल विस्तार गरेका हुन् । अहिले निर्वाचन सकिएपछि पनि ती गतिविधि निरन्तर चलिरहेको देखिएको छ ।सीमावर्ती भारतीय बजारसँगको निकटताका कारण सस्तो मूल्यमा सामान ल्याएर नेपालमा महँगोमा बेच्ने प्रवृत्ति पुरानै भए पनि पछिल्लो समय यसले संगठित रूप लिएको बताइन्छ । यसमा स्थानीय बिचौलिया, ढुवानीकर्ता र गोदाम सञ्चालकहरूको संलग्नता हुने गरेको अनुमान गरिएको छ ।
यद्यपि, स्थानीय तहमा प्रहरीको उपस्थिति सीमित हुनु, खुला सिमाना र पर्याप्त प्रविधिको अभावका कारण तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ । कतिपय अवस्थामा तस्करहरू प्रहरी गतिविधिबारे पूर्व जानकारी पाउने र सामान सार्ने गरेको पनि आशंका गरिएको छ ।राजश्व विभागका अधिकारीहरूका अनुसार यस्ता अवैध कारोबारका कारण राज्यले दैनिक लाखौँ रुपैयाँ राजश्व गुमाइरहेको छ । कानुनी रूपमा भन्सार तिरेर आयात गर्नुपर्ने सामान चोरी–छल गरी भित्र्याइँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि बढ्ने गरेको छ । यसले वैध व्यवसायीहरूलाई समेत असर पारिरहेको छ । 
धनुषा जिल्लामा जुत्ता, कपडा, मोबाइल सामग्री, किराना सामान लगायतका वस्तुहरू बढी मात्रामा तस्करी हुने गरेको पाइएको छ । ती सामानहरू स्थानीय बजारमा सजिलै बिक्री हुने भएकाले तस्करहरूका लागि यो आकर्षक व्यापार बनेको छ । धनुषामा पछिल्लो समय देखिएको तस्करीको प्रवृत्तिले सुरक्षा व्यवस्था, आर्थिक अनुशासन र राज्यको राजश्व प्रणालीमै गम्भीर चुनौती खडा गरेको छ । यदि समयमै कडाइका साथ नियन्त्रण गर्न सकिएन भने यसले अझ ठूलो आर्थिक तथा सामाजिक समस्या निम्त्याउन सक्ने देखिन्छ । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२६-०३-२१ , समय : २०:०२:५९ , 4 hours अगाडि