अन्धा प्यार : विवाह प्रस्ताव अस्वीकार गर्दा १८ महिनाकाे बालकको निर्मम हत्या

मिति: २०२६-०६-०१ , समय : १६:१९:४० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । भारतको फिरोजाबादमा विवाहको प्रस्ताव अस्वीकार गरेको रिसमा एक युवकले १८ महिनाका बालकको निर्मम हत्या गरेका छन्। घटनामा संलग्न आरोपीलाई प्रहरीले मुठभेडपछि पक्राउ गरेको छ।

प्रहरीका अनुसार जितेन्द्र पाठक नामका २४ वर्षीय युवकले बालककी आमासँग एकतर्फी प्रेम गर्दै आएका थिए। उनले पटक–पटक विवाहको प्रस्ताव राखे पनि महिलाले आफ्नो सानो छोरा रहेको कारण देखाउँदै प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन्।

प्रस्ताव अस्वीकार गरिनुको कारण बालक नै भएको ठानेपछि आरोपीले बालकलाई नै बाटोबाट हटाउने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

गत मे ३० मा बालककी आमा घरबाहिर रहेको मौका छोपी आरोपीले चकलेट किनिदिने बहानामा १८ महिनाका बालक आरभलाई साथमा लगेका थिए। त्यसपछि एक सुनसान गल्लीमा लगेर बालकलाई भुइँमा बजार्दै हत्या गरेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हत्यापछि आरोपीले बालक छतबाट खसेको भन्दै परिवारलाई भ्रममा पार्ने प्रयास गरेका थिए। तर सीसीटीभी फुटेज सार्वजनिक भएपछि घटनाको वास्तविकता बाहिरिएको हो।

घटनापछि आरोपीको खोजीका लागि प्रहरीले चारवटा विशेष टोली गठन गरेको थियो। खोजीका क्रममा भुरा बर्था सडक क्षेत्र नजिक लुकेर बसेका आरोपीलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि गोली चलाएको बताइएको छ।

प्रहरीको जवाफी कारबाहीमा आरोपीका दुवै खुट्टामा गोली लागेको छ। घाइते अवस्थामै उनलाई नियन्त्रणमा लिएर अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। आरोपीको साथबाट एक थान अवैध पेस्तोल र गोलीसमेत बरामद गरिएको छ।

घटनाले स्थानीय क्षेत्रमा व्यापक आक्रोश फैलिएको छ भने बालकको निर्मम हत्यापछि सामाजिक सञ्जालमा समेत तीव्र प्रतिक्रिया आएको छ। यता प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। एजेन्सी

प्रकाशित मिति: २०२६-०६-०१ , समय : १६:१९:४० , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित