मधेस प्रदेशमा ४० लाखको सडकमा ‘कमसल ढलान’को आरोप : स्थानीय आक्रोशित, अख्तियारसँग छानबिनको माग

मिति: २०२६-०६-१९ , समय : ०८:२६:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौ । मधेस प्रदेशको रौतहटको फतुवा विजयपुर नगरपालिका–३ मा प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको ढलान सडकको गुणस्तरमाथि गम्भीर प्रश्न उठेपछि स्थानीयवासी आन्दोलित बनेका छन्। करिब ३०० मिटर लम्बाइको उक्त सडक निर्माणमा व्यापक अनियमितता भएको, आवश्यक मापदण्डअनुसार रड तथा सिमेन्ट प्रयोग नगरिएको भन्दै स्थानीयले विरोध जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छानबिनको माग गरेका छन्।

स्थानीयका अनुसार करिब ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सडक केही समय नबित्दै कमजोर देखिन थालेको छ। निर्माणका क्रममा प्रयोग गरिनुपर्ने सामग्रीको मात्रा र गुणस्तरमा सम्झौता गरिएको आरोप उनीहरूको छ। स्थानीयवासीले सडकको ढलान सतह कमजोर रहेको, कतिपय स्थानमा चिरा देखिन थालेको तथा निर्माण कार्यमा प्राविधिक मापदण्ड पालना नभएको दाबी गरेका छन्।

उक्त सडक निर्माणको ठेक्का फतुवा विजयपुर नगरपालिका–३ का पूर्व वडाध्यक्ष दिप नारायण साह सोनारले लिएको बताइएको छ। स्थानीयहरूले सार्वजनिक रकमको दुरुपयोग भएको आशंका व्यक्त गर्दै निर्माण कार्यको प्राविधिक परीक्षण गर्न र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

“४० लाख रुपैयाँ खर्च भएको भनिएको सडकको अवस्था हेर्दा रकमअनुसारको काम भएको जस्तो देखिँदैन,” एक स्थानीयले भने, “सडक निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तर र खर्चको वास्तविक विवरण सार्वजनिक हुनुपर्छ।”

स्थानीयले सडक निर्माण प्रक्रियामा पारदर्शिता नभएको आरोप समेत लगाएका छन्। उनीहरूले निर्माण सम्पन्न भएपछि पनि कुनै प्रभावकारी अनुगमन नभएको भन्दै प्रदेश सरकार, सम्बन्धित प्राविधिक निकाय तथा अख्तियारको ध्यानाकर्षण गराएका छन्।

यता, स्थानीयको विरोध बढ्दै गएपछि सम्बन्धित निकायमाथि छानबिनको दबाब समेत बढेको छ। सार्वजनिक विकास निर्माणका काममा हुने सम्भावित अनियमितताले राज्यको बजेट दुरुपयोग हुने मात्र नभई नागरिकले गुणस्तरीय पूर्वाधारबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने भन्दै स्थानीयले तत्काल निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

स्थानीयवासीले सडक निर्माणमा भएको भनिएको अनियमितताको सत्यतथ्य सार्वजनिक गर्न, निर्माण कार्यको प्राविधिक परीक्षण गर्न तथा दोषी देखिए कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। अहिले यो विषयले फतुवा विजयपुर क्षेत्रमा व्यापक चर्चा पाएको छ भने अख्तियारले यसबारे चासो देखाउने कि नदेखाउने भन्ने प्रतीक्षा स्थानीयले गरिरहेका छन्।

प्रकाशित मिति: २०२६-०६-१९ , समय : ०८:२६:२० , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित