सप्तरीको राजविराज कारागारभित्र तनाव : पाँच कैदीबन्दीले गरे आत्मदाहको प्रयास ,पत्रकारलाई प्रवेशमा राेक

कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भन्दै कारागार प्रशासनको नाममा ५ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् ।

मिति: २०२६-०७-१८ , समय : १५:५७:२१ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेल प्रशासनविरुद्ध कैदीबन्दीले आन्दोलन थालेपछि शनिबार कारागारभित्र तनावको सिर्जना भएको छ। जेलर रूपक मण्डलको सरुवा, आर्थिक अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएका हुन्।
कैदीबन्दीहरूले चौकीदार चयनको नाममा आर्थिक लेनदेन भएको आरोप लगाउँदै केही दिनदेखि विरोध जनाइरहेका थिए। आन्दोलन उग्र बन्दै गएपछि प्रहरी कारागारभित्र प्रवेश गर्न खोज्दा स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका थिए। समयमै सुरक्षाकर्मी र प्रशासन सक्रिय भएकाले कुनै मानवीय क्षति नभएको जनाइएको छ।
कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भन्दै कारागार प्रशासनको नाममा ५ लाख रुपैयाँ लिएको आरोप लगाएका छन्। उक्त आरोपपछि कारागारभित्र विवाद थप चर्किएको बताइएको छ। यद्यपि, आरोपबारे आधिकारिक रूपमा पुष्टि भइसकेको छैन।घटनापछि कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीलाई पनि कारागारभित्र प्रवेश गर्न दिइएको छैन।जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकीदारसम्बन्धी विवादपछि कैदीबन्दी असन्तुष्ट बनेको स्वीकार गर्दै अहिले अवस्था नियन्त्रणमा रहेको बताए। उनका अनुसार कैदीबन्दीसँग निरन्तर संवाद भइरहेको छ र घटनाबारे थप अनुसन्धान गरिनेछ।
यता कारागार प्रशासनले पनि विवाद समाधानका लागि आन्तरिक छलफल जारी रहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०७-१८ , समय : १५:५७:२१ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित