सप्तरी जिल्ला गांजा तस्करीको हव बन्दै : कसको थियो ती ३३ क्विंटल गांजा…?

मिति: २०२६-०७-२६ , समय : २१:३२:०१ , जितेन्द्र जितु

जितेन्द्र जितु

राजविराज ।
नेपाल-भारत सीमावर्ती क्षेत्र लागूऔषध ओसारपसारको पुरानाे ‘ट्रान्जिट पोइन्ट’ मानिँदै आए पनि सप्तरीको तिलाठी कोइलाडी-५ बनरझुल्ला (हनुमाननगर-रम्पुरा मल्हनियाँ सडक खण्ड) बाट एकैपटक ३३ क्विन्टल ३२ किलोभन्दा बढी (३३ सय किलो) गाँजा बरामद हुनुले संगठित अपराधको भयावह रूप उजागर गरेको छ । तीनवटा गाडीमा लोड गरिएको यो परिमाण जिल्लाकै इतिहासमा सम्भवतः सबैभन्दा ठूलो खेप हो ।

प्रहरीले सामान र गाडी समातेर ठूलो सफलता दाबी गरिरहँदा, घटनाका मुख्य अभियुक्त र चालकहरू सहजै फरार हुनुले भने सुरक्षा रणनीति र अनुसन्धानको गम्भीरतामाथि अनेकौँ शङ्का-उपशङ्का जन्माएको छ । यो प्रकरण केवल एउटा बरामदगी मात्र नभई, सीमा क्षेत्रमा मौलाएको राजनीतिक, प्रशासनिक र आपराधिक ‘सिन्डिकेट’ को बलियो ऐना हो ।

यस संवेदनशील प्रकरणको निष्पक्ष अनुसन्धानका लागि सप्तरी प्रहरी र सम्बन्धित निकायले निम्न प्रश्नहरूको पारदर्शी जवाफ दिनु अपरिहार्य छ :

१) गाडी र नम्बर प्लेटको रहस्य : गाँजा लोड गरिएका तीनवटै सवारी साधनहरू (बा.प्र.०१-०२५ च ०४३६, प्र.१-०४-००१ च १५०७ र बा.प्र.०१-०२९ च ९५८६) को नम्बर प्लेट सक्कल हुन् कि नक्कली ? यातायात व्यवस्था कार्यालयको अभिलेख अनुसार ती गाडीहरू आखिर कसका नाममा दर्ता छन् ? के सवारी धनीहरूमाथि सोधपुछ सुरु गरिएको छ ?

२) चालकहरू सामूहिक फरार, संयोग कि रणनीति ? : प्रहरी टोली घटनास्थलमा पुग्दा तीनै जना चालकहरू एकैसाथ फरार हुनु केवल भौगोलिक अन्धकारको फाइदा हो वा “सामान समात्ने, अपराधी भगाउने” कुनै भित्री रणनीतिक सेटिङ (लाइन मिलाउने खेल) को हिस्सा थियो ?

३) भण्डारण (स्टोर) को केन्द्र कहाँ थियो ? : यति ठूलो परिमाणको गाँजा सोझै बोर्डर कटाइँदै थियो वा रम्पुरा मल्हनियाँ क्षेत्र आसपासकै कुनै सुरक्षित गोदाम (Warehouse) मा भण्डारण गर्ने योजना थियो ? स्थानीय स्तरमा यत्रो अवैध सामान व्यवस्थापन गर्ने ‘सेफ हाउस’ को संरक्षण कसले गरिरहेको छ ?

४) मोबाइल र CDR को कडी : घटनास्थलमा फेला परेको चालकको मोबाइलको कल डिटेल रेकर्ड (CDR) र बीटीएस (BTS) टावर लोकेसनको फरेन्सिक विश्लेषण कहाँ पुग्यो ? के उक्त मोबाइलको सम्पर्क सञ्जालले यो सिन्डिकेटका मुख्य लगानीकर्ता र राजनीतिक नाइकेहरूसम्म पुग्ने ढोका खोल्छ ?

६) जेल विवाद र ध्यान भटकाउने (Diversion) एङ्गल : पछिल्लो साता सप्तरी कारागार (जेल) मा भएको अशान्ति र विवाद, सुरक्षा निकायको ध्यान अन्यत्र मोडेर यति ठूलो गाँजाको कन्साइनमेन्ट सुरक्षित रूपमा पारी पठाउने नियोजित ‘डाइभर्सन रणनीति’ त थिएन ? के प्रहरीले यो कोण (Angle) बाट एकीकृत अनुसन्धान थालेको छ ?

लागूऔषध बरामद हुनु प्रहरीको सकारात्मक कदम त हो, तर मुख्य अपराधी, लगानीकर्ता र सवारी धनीलाई कानुनी दायरामा नल्याएसम्म यस्ता अपरेसनहरू अधुरा र शङ्कास्पद ठहरिन्छन् ।

यस प्रकरणमा सप्तरी प्रहरी केवल ‘बरामदगीको जस’ लिएर मात्र उम्कन मिल्दैन । सिन्डिकेटको जरोसम्म पुग्न प्रहरीले आफ्नै संयन्त्रको कमजोरीको समेत आत्मसमीक्षा गर्दै यी प्रश्नहरूको ठोस र सार्वजनिक जवाफ दिनुपर्छ, जसले विधिको शासन र नागरिक सुरक्षामाथिको जनविश्वासलाई कायम राख्न सकोस् । सप्तरी समाचारबाट

प्रकाशित मिति: २०२६-०७-२६ , समय : २१:३२:०१ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित