सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताललाई ३ सय शय्या बनाउन राष्ट्रिय मुक्ति पार्टीकाे माग
मिति: २०२६-०८-१२ , समय : ०४:५६:५० , गामघर डेस्क
मिति: २०२६-०८-१२ , समय : ०४:५६:५० , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजलाई आवश्यक जनशक्ति पूर्वाधार तथा उपकरणसहित ३ सय शय्याको अस्पतालका रूपमा यथाशीघ्र स्थापित तथा सञ्चालन गर्न माग गरिएको छ ।
राष्ट्रिय मुक्ति पार्टी सप्तरीका अध्यक्ष दिपेन्द्र चौधरीको नेतृत्वमा गएका नेता कार्यकर्ताले मंगलबार मेडिकल सुपरिटेन्डेन्ट बीरेन्द्र मण्डल मार्फत स्वास्थ्य मन्त्री निशा मेहतालाई ज्ञापन पठाइएको हो ।
ज्ञापनमा निर्माण सम्पन्न भएको अस्पताल भवन यथाशीघ्र हस्तान्तरण गरी सञ्चालनमा ल्याउनुपर्ने, हृदयरोगीका लागि छुट्टै हर्ट सेन्टरको व्यवस्था गर्नुपर्ने, अस्पतालमा आइसियु, भेन्टिलेटर, इन्डोसकोपी, ओपिजी एक्सरेको व्यवस्था हुनुपर्ने, अस्पताल परिसरमा रहेको नर्सिङ कलेज यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्ने, युरोलोजिस्ट लगायतका आवश्यक विशेषज्ञ चिकित्सकहरूको दरबन्दी तथा नियमित सेवा यथाशीघ्र व्यवस्था गर्नुपर्ने, चिकित्सकको सेवा आलो–पालो मात्र उपलब्ध गराउने व्यवस्था अन्त्य गरी नियमित रूपमा सबै चिकित्सकबाट सेवा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने, अस्पतालका हरेक वार्डमा तातो तथा चिसो खानेपानीको उचित व्यवस्था गर्नुपर्ने, चिकित्सकहरूका लागि उचित आवासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । 
यस्तै, अस्पतालको फार्मेसीमा आवश्यक विमामा उपलब्ध औषधिहरु नियमित रूपमा पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने, नियमित तथा प्रभावकारी सरसफाइको व्यवस्था गर्नुपर्ने, अस्पतालमा प्रदान गरिने एचडीयु सहितका विभिन्न सेवाका लागि गरिएको मुल्य वृद्धिलाई घटाई पहिलेकै मुल्यको व्यवस्था गर्नुपर्ने, नातागोताको आधारमा गरिएको अनावश्यक नियुक्तिहरु खारिज गरी प्रक्रियागत ढंगले योग्य व्यक्तिहरुको चयन गर्नुपर्ने र अस्पतालमा रहेको पोष्ट्मार्टम भवनको आधुनिकीकरण सहित शवगृहको व्यवस्था गर्नुपर्ने माग समेत ज्ञापनमा गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मण्डलमार्फत स्वास्थ्य मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा अस्पतालको सेवा सुधार, बिरामीको सहजता तथा आम नागरिकको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले यथाशीघ्र सम्बोधन गरी कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
प्रकाशित मिति: २०२६-०८-१२ , समय : ०४:५६:५० , 2 hours अगाडि