सप्तरीबाट २३ दिनमा २६ जना बेपत्ता : २० जनाकाे सकुशल उद्धार , ६ जना अझै बेपत्ता

मिति: २०२६-०८-१३ , समय : २२:००:५४ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाका विभिन्न पालिकाबाट हराएका २६ जना व्यक्तिमध्ये २० जनालाई सकुशल फेला पारेको छ।

प्रहरीले साउन १ गतेदेखि २३ गतेसम्मको अवधिमा परेका निवेदनका आधारमा खोजी गर्दा २० जनालाई फेला पारेको तथ्याङ्क सार्वजनिक गरेको हो। हराएका मध्ये छ जनाको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट १२ जना महिला, १२ जना बालिका, एक जना बालक र एक जना पुरुष गरी कुल २६ जना हराएका थिए।

फेला पारिएकाहरूमा १० जना महिला, आठ जना बालिका, एक जना बालक र एक जना पुरुष रहेका छन्। उद्धार गरिएका अधिकांश व्यक्तिलाई सीमावर्ती भारतीय बजार क्षेत्रबाट सकुशल फेला पारिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो।

अझै बेपत्ता रहेका दुई जना महिला र चार जना बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले अझै अज्ञात रहेका छ जनाको स्थिति पत्ता लगाउन प्रहरी टोली सक्रिय रूपमा लागिपरेको बताउनुभयो। “जिल्ला प्रहरी र मातहतका प्रहरी कार्यालयका साथै सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूसँग समेत आवश्यक समन्वय गरी उहाँहरूको तीव्रताका साथ खोजी भइरहेको छ,” उहाँले भन्नुभयो। गाेरखापत्रबाट

प्रकाशित मिति: २०२६-०८-१३ , समय : २२:००:५४ , 2 hours अगाडि