सप्तरीमा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट एक बृद्ध सहित दुई जनाको मृत्यु

मिति: २०२६-०८-२० , समय : २१:१७:३४ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
सप्तरीमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य अधिकृत शतिश यादवका अनुसार तिलाठी कोइलाडी गाउँपालिका– १ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको उपचारका क्रममा गत साउन २१ गते मृत्यु भएको बताउनु भयो ।
उहाँले यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो भने रामको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारकै क्रममा निधन भएको बताउनु भयो ।
जिल्लामा थप तीन जनामा समेत जापानिज इन्सेफ्लाइटिस संक्रमण देखिएको थियो । उहाँहरू उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् ।
स्वास्थ्य अधिकृत यादवले जापानिज इन्सेफ्लाइटिस मुख्यतः संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नु भएको छ । उहाँले अत्यधिक ज्वरो आउने, बेहोस हुने लगायतका लक्षण देखिएमा बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पु¥याउन आग्रह गर्नु भयो । विशेषगरी साँझ र बिहान लामखुट्टेको टोकाइबाट जोगिन, सुत्दा झुलको प्रयोग गर्न, शरीर ढाक्ने कपडा लगाउन तथा घरवरपर पानी जम्न नदिन सुझाव दिनु भयो ।
स्वास्थ्य अधिकृत यादवले दुई जनाको मृत्यु भएपछि जिल्लामा रोग नियन्त्रण, निगरानी तथा जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०८-२० , समय : २१:१७:३४ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित