सप्तरीमा नाबालिकाको हत्या प्रकरण : सम्पत्ति विवादमा हत्या , सौतेनी आमा पक्राउ

मिति: २०२६-०८-२४ , समय : ०७:५६:०६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सप्तरी । सप्तरीमा मृत भेटिएकी तीन वर्षीया नाबालिकाको हत्या उनकै सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।जिल्लाको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकका स्थानीय मोहम्मद इरफानकी तीन वर्षीया छोरी खुशी भनिने सानिया खातुन आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् । सानिया बेपत्ता भएको जानकारी परिवारको सदस्यले दिएपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा सानिया मृत फेला परेकी थिइन् ।घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्कासहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

सप्तरीका प्रहरीका अनुसार उक्त व्यक्ति मृतक बालिकाकी सौतेनी आमा १९ वर्षीया मुस्कान खातुन रहेकी छन् ।प्रहरीका अनुसार मृतकका बुवा इरफानकी जेठी र कान्छी गरी दुई वटा पत्नी छन् ।स्थानीयका अनुसार उनीहरूबीच ‘सम्पत्तिको हकदार को हुने ?’ भन्ने विषयमा समेत विवाद थियो। इरफानकी जेठी पत्नी र छोरी पुर्ख्यौली घरमा बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान सोही स्थान नजिकै डेरा लिएर बस्दै आएकी थिइन्। शनिबार पनि सोही विषयमा दुई पत्नीबीच विवाद भएको थियो ।त्यसको भोलिपल्ट बालिकाको हत्या भएको प्रहरीले जनाएको छ। इरफान भने हाल वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनाको थप अनुसन्धानका भइरहेको छ । यता घटनाको विरोधमा स्थानीयले आइतबार दिउँसो केही समय रुपनी बजार बन्द गराएका थिए। स्थानीयको प्रदर्शनका कारण केहीबेर राजमार्गसमेत अवरुद्ध भएकोमा अहिले बजार र राजमार्गको अवरोध हटिसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०८-२४ , समय : ०७:५६:०६ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित