वर्तमान सरकारले मनोमानी गर्दै आएकोमा पूर्वमन्त्री यादवको आक्रोश
मिति: २०२६-०८-२४ , समय : २१:१५:११ , विन्दु कुमार यादव
मिति: २०२६-०८-२४ , समय : २१:१५:११ , विन्दु कुमार यादव
तस्बिर : विन्दु कुमार यादव / राजविराज
विन्दु कुमार यादव
राजविराज ।
नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री महेन्द्र राय यादवले रास्वपाको नेतृत्वमा रहेको वर्तमान सरकारले मनोमानी ढंगले काम गरिरहेको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी सप्तरीको जिल्ला पार्टी एकता तथा समायोजनसँगै आयोजित एकदिने प्रशिक्षण कार्यक्रमलाई सोमबार राजविराजमा सम्बोधन गर्दै उनले किसान, दलित, मधेसी, आदिवासी जनजाति, थारु तथा मुस्लिम समुदायका समस्याप्रति सरकार गम्भीर नदेखिएको बताएका हुन्। 
नेपाली कम्युनिष्ट पार्टी सप्तरीका जिल्ला संयोजक प्रताप नारायण चौधरीको अध्यक्षता तथा पार्टीका मधेस प्रदेश इन्चार्ज यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनले किसानहरू मलखादको अभावका कारण समस्यामा पर्दासमेत सरकारले समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको आरोप लगाए।
“किसान मलखाद नपाएर समस्यामा छन्, तर सरकार उनीहरूको पीडा समाधान गर्न मौन छ,” उनले भने, “वर्तमान सरकारको कार्यशैलीका कारण जनतामा आक्रोश बढ्दै गएको बताए। सरकारले जनभावनाअनुसार काम गर्नुको सट्टा मनोमानी ढंगले अघि बढिरहेको बताए । 
पूर्वमन्त्री यादवले देशमा समानता र सामाजिक न्याय कायम नभएसम्म दलित समुदायको अधिकार पूर्ण रूपमा सुनिश्चित हुन नसक्ने बताए। नेपाली कम्युनिष्ट पार्टी सदैव दलित, आदिवासी जनजाति, थारु, मुस्लिम तथा अन्य उत्पीडित समुदायको अधिकारका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले मधेसी जनताले लामो संघर्षपछि केही अधिकार प्राप्त गरे पनि अझै पूर्ण न्याय प्राप्त गर्न नसकेको उल्लेख गर्दै अधिकारसँगै न्यायका लागि संघर्षलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
“मधेसी जनताले केही अधिकार त प्राप्त गरेका छन्, तर अझै न्याय पाउन बाँकी छ,” उनले भने, “अब अधिकार र न्यायको सुनिश्चितताका लागि संगठित संघर्ष आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेश संयोजक राजु खडकाले मधेसी जनताले पार्टी निर्माण र राजनीतिक आन्दोलनमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले आगामी दिनमा पार्टीलाई थप सुदृढ, संगठित र जनमुखी बनाउन नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए। 
त्यसैगरी पार्टीका मधेस प्रदेश सहसंयोजक छत्रबहादुर श्रेष्ठले पार्टी विस्तारका लागि आपसी एकता कायम राख्दै जिल्ला, गाउँ र वडा तहसम्म संगठन विस्तार गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा पार्टीका मधेस प्रदेश सहइन्चार्ज श्रीप्रसाद साह, सप्तरी जिल्ला इन्चार्ज सूर्यनाथ यादव, केन्द्रीय सदस्य तथा सहइन्चार्ज उषा पोखरेल लगायतले पार्टी संगठन सुदृढीकरण, एकता र आगामी राजनीतिक कार्यदिशाका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त कार्यक्रमका क्रममा विभिन्न पार्टी तथा राजनीतिक पृष्ठभूमिबाट आएका ५ सय ५ जना जिल्ला नेता तथा कार्यकर्ताले नेपाली कम्युनिष्ट पार्टीको सदस्यका रूपमा शपथ ग्रहण गरेका थिए।
प्रकाशित मिति: २०२६-०८-२४ , समय : २१:१५:११ , 1 hour अगाडि