सप्तरीमा दलित महिलामाथि सामूहिक बलात्कार : तीन जना युवकविरुद्ध किटानी जाहेरी

मिति: २०२६-१०-२५ , समय : १८:२०:१३ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.९ स्थित टिकुलियामा २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जना स्थानीय युवकविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।

पीडित परिवारका अनुसार बिहीबार इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ताका लागि निवेदन दिइएको हो। उक्त घटना भने ४ गते बुधबार राति करिब ९:३० बजे स्थानीय मदरसा नजिकैको आँपको बगैँचामा भएको पीडितको जाहेरीमा उल्लेख छ।

जाहेरीमा उल्लेख भएअनुसार गाउँमा आयोजित दुर्गापूजाको मूर्ति विसर्जनका लागि बलान नदी लगिएको थियो। मूर्ति विसर्जनपछि ट्र्याक्टरमा फर्किने क्रममा डिजेल सकिएर गाडी बाटोमै रोकिएपछि महिला पैदल घरतर्फ जाँदै थिइन्। सोही क्रममा बाटोछेउमा बसेका तीन जना युवकले उनलाई नियन्त्रणमा लिई मुख थुनेर नजिकैको आँपको बगैँचामा पुर्‍याई पालैपालो बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पीडितको स्वास्थ्य परीक्षण तथा घटनास्थल मुचुल्कालगायत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

यता जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनामा संलग्न रहेको आशंका गरिएका युवकहरूको पहिचान भइसकेको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको र अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले थप विवरण गोप्य राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-२५ , समय : १८:२०:१३ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित