सामाजिक तथा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए बापत सप्तरीका युवा यादव अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित
मिति: २०२६-११-२२ , समय : ०७:०५:४९ , गामघर डेस्क
मिति: २०२६-११-२२ , समय : ०७:०५:४९ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / काठमाडौं
गामघर डेस्क
काठमाडौं । सामाजिक विकास, शिक्षा, बालअधिकार तथा युवा सशक्तीकरणका क्षेत्रमा विगत ११ वर्षदेखि निरन्तर सक्रिय रहँदै आएका सप्तरीका युवा सामाजिक अभियन्ता त्रिवेणी कुमार यादव ‘Excellence in Social Development Award 2026’ बाट सम्मानित भएका छन्।
काठमाडौंमा आयोजित ‘Beyond Borders: Indo-Nepal ECCE & Teacher Empowerment Dialogue 2026’ कार्यक्रममा ग्लोबल फाउन्डेसन फर अर्ली चाइल्डहुड एजुकेसन एन्ड रिसर्च (GFECER) द्वारा यादवलाई सामाजिक विकास तथा शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा न.८ तोपा निवासी २८ वर्षीय यादवले राजनीति शास्त्रमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। सानै उमेरदेखि सामाजिक सेवामा रुचि राख्ने यादवले बाल क्लबको सदस्यका रूपमा आफ्नो सामाजिक यात्राको सुरुवात गरेका थिए। बालअधिकार, शिक्षा तथा बालबालिकाको नेतृत्व विकासका गतिविधिबाट सामाजिक क्षेत्रमा प्रवेश गरेका उनी पछिल्लो ११ वर्षदेखि विभिन्न सामाजिक अभियान, सामुदायिक विकास, बालविवाह न्यूनीकरण, लैंगिक समानता, शिक्षा प्रवर्द्धन तथा युवा सशक्तीकरणका क्षेत्रमा निरन्तर क्रियाशील छन्।
बाल क्लबको पूर्व सदस्यसमेत रहेका यादव हाल जिल्ला युवा सञ्जाल सप्तरीका अध्यक्ष हुन्। युवा सञ्जालमार्फत युवाहरूलाई सामाजिक अभियानमा परिचालन गर्ने, बालबालिका तथा किशोरकिशोरीको अधिकार संरक्षण, शिक्षामा पहुँच अभिवृद्धि, नेतृत्व क्षमता विकास र सामाजिक रूपान्तरणका गतिविधिमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।
हाल उनी सिरहा जिल्लाको गोलबजारमा अवस्थित मुक्ति नेपाल संस्थामा परियोजना संयोजकका रूपमा कार्यरत छन्। संस्थामार्फत महिला तथा बालबालिकाको अधिकार संरक्षण, लैंगिक हिंसा तथा बालविवाह रोकथाम, किशोरी सशक्तीकरण, विद्यालय शिक्षामा पहुँच, बाल क्लब तथा युवा सञ्जालको क्षमता अभिवृद्धि र समुदायस्तरमा सचेतना फैलाउने विभिन्न गतिविधिमा उनी सक्रिय रहँदै आएका छन्।
विशेषगरी ग्रामीण तथा सीमान्तकृत समुदायका बालबालिका र किशोरीहरूको शिक्षामा पहुँच बढाउने, विद्यालय छाडेका बालबालिकालाई पुनः शिक्षासँग जोड्ने, बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा बालबालिका र युवाहरूलाई आफ्नो अधिकारका विषयमा आवाज उठाउन सक्षम बनाउने अभियानमा उनको योगदान उल्लेखनीय रहेको छ।
सामाजिक विकास र शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएका युवाहरूमध्ये यादवले शिक्षा प्रवर्द्धन, बालअधिकार संरक्षण, युवा नेतृत्व विकास तथा समुदाय सशक्तीकरणमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई उक्त अन्तर्राष्ट्रिय सम्मानका लागि छनोट गरिएको जनाइएको छ।
नोभेम्बर २० र २१ मा काठमाडौंको माछापोखरी प्यालेसमा आयोजित नेपाल–भारत प्रारम्भिक बालशिक्षा तथा शिक्षक सशक्तीकरण संवाद कार्यक्रममा उनलाई ‘Excellence in Social Development Award 2026’ अन्तर्गत सम्मानपत्र तथा ट्रफी प्रदान गरिएको हो।
कार्यक्रममा नेपालकी पूर्व उपप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाको समेत सहभागिता रहेको थियो। नेपाल र भारतबीच प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको क्षमता अभिवृद्धि, शैक्षिक अनुभव आदानप्रदान र अन्तरदेशीय सहकार्य विस्तार गर्ने उद्देश्यले उक्त अन्तर्राष्ट्रिय संवाद आयोजना गरिएको हो।
‘Collaborate, Innovate, Empower, Transform’ अर्थात् सहकार्य, नवीनता, सशक्तीकरण र रूपान्तरणको अवधारणामा केन्द्रित उक्त कार्यक्रममा शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको कार्यलाई सम्मान गरिएको थियो।
बाल क्लबको सामान्य सदस्यबाट सामाजिक अभियान सुरु गरी जिल्ला युवा सञ्जालको नेतृत्व हुँदै परियोजना संयोजकसम्मको जिम्मेवारी सम्हालिरहेका यादवको यो उपलब्धिले ग्रामीण क्षेत्रका युवाहरूले पनि निरन्तर मेहनत, समर्पण र सामाजिक उत्तरदायित्वका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्ने सन्देश दिएको छ।
सप्तरीको ग्रामीण परिवेशबाट सामाजिक सेवाको यात्रा सुरु गरेका २८ वर्षीय यादवले प्राप्त गरेको यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई शिक्षा, बालअधिकार र सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील सम्पूर्ण युवाहरूका लागि प्रेरणाको विषय बनेको छ।
बालबालिका तथा युवाहरूको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा, अवसर, सहभागिता र नेतृत्व विकास अपरिहार्य रहेको मान्यतासहित अगाडि बढिरहेका यादवको सामाजिक सेवाप्रतिको निरन्तर समर्पणलाई यस सम्मानले थप प्रोत्साहन दिएको छ।
प्रकाशित मिति: २०२६-११-२२ , समय : ०७:०५:४९ , 5 hours अगाडि