प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली
एमालेले तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने, पार्टीको झण्डा आधा झुकाउने
मिति: २०२३-०९-१२ , समय : १५:२५:०७ , गामघर डेस्क
मिति: २०२३-०९-१२ , समय : १५:२५:०७ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्ड ललितपुरको च्यासलमा रहेकाे एमालेको केन्द्रीय कार्यालयमा पुगी त्यहाँ राखिएको नेम्वाङको पार्थीव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हाे ।
यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलमा रहेकाे एमाले केन्द्रीय कार्यालय पुगी पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिनुभएको छ ।
यसैगरी नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत च्यासल पुग्नुभयो ।
यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरूले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति छ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय च्यासलमा राख्ने एमालेले जनाएको छ ।
यसेबिच नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने भएको छ । बैठकले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने पनि निर्णय गरेको सचिव भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०९-१२ , समय : १५:२५:०७ , 2 years अगाडि