मधेस प्रदेश : चिसो बढेसँगै मधेशका महिला जलनको जोखिममा
मिति: २०२४-०१-१७ , समय : १२:४१:४१ , गामघर डेस्क
मिति: २०२४-०१-१७ , समय : १२:४१:४१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । जाडो बढ्न थालेसँगै तराई मधेशमा घुर अर्थात आगो ताप्दा जलनमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो केही दिनदेखि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेर चिसो बढ्न थालेपछि घुर अर्थात आगो ताप्दा जलेर घाइते र ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको हो ।
तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा शीतलहरका बेला घुर अर्थात आगो ताप्दा जलनका घटना बढी हुने गरेको विज्ञले बताएका छन् । त्यसमा पनि महिलाहरु बढी जोखिममा पर्ने गरेका छन् ।
महिलाहरुले लगाउने कपडा जलनको कारण बन्न सक्ने हुँदा साडी वा कुर्ता लगाएर आगो ताप्न बस्दा विशेष ख्याल गर्न प्लाष्टिक सर्जन डा जसवन शाक्यले आग्रह गर्नुभयो । जलन हुनबाट जोगिन आगोको छेउछाउ जाँदा नाइलनका कपडा नलगाउने, खाना पकाउँदा आफू आगोबाट टाढा बस्ने, खाना पकाउने ठाउँ अग्लो ठाउँमा बनाउने लगायतका कुरामा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
डा शाक्यले जलनका घटना कम गर्न अझै पनि जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । जलन भैहाल्यो भने शुरुमा आगो निभाउन कोसिस गर्ने, आगो निभेपछि शरीरमा टाँसिएको कपडा निकाल्ने, जलेको भागमा निरन्तर २० देखि २५ मिनेटसम्म चिसो पानी खन्याउने र तुरुन्तै अस्पताल लैजानुपर्ने डा.शाक्यको सुझाव छ ।
जाडोमा हुने जलनका घटनामध्ये ६० प्रतिशत आगो ताप्ने क्रममा हुने गरेको कीर्तिपुर अस्पतालले जनाएको छ । कीर्तिपुर अस्पतालमा जलनका घाइतेहरुको उपचार हुने गर्छ ।
प्रकाशित मिति: २०२४-०१-१७ , समय : १२:४१:४१ , 2 years अगाडि