यादव–राउत टकराव : दबाब दिएर यादव प्रमुख अतिथि बन्न खाेजेकाे राउतकाे आरोप

जसपा -जनमत विवाद : शिलान्यास नरोकिँदा हुन सक्ने अप्रिय घटनाको जिम्मेवार उपकुलपति र रजिस्ट्रार : शिक्षामन्त्री यादव

मिति: २०२४-०१-२२ , समय : ०७:१५:१० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बन्ने विषयमा जनमत पार्टी र जनता समाजवादी पार्टीका अध्यक्षहरूबीच टकराव बढेकाे छ। उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर शिलान्यास कार्यक्रम तय भएपछि साेमबार सप्तरीमा जनमतका कार्यकर्ता विरोधमा उत्रिए।

कुनै पनि हालतमा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि नमान्ने भन्दै जनमतका कार्यकर्ताले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मी परिचालन गरेका छन्।


यी घटनाक्रमपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष यादवमाथि गम्भीर आरोप लगाउँदै प्रमुख अतिथि बन्न यादवले उपकुलपति र रजिस्ट्रारलाई दबाब दिएको टिप्पणी गरेका छन्।

राउतले आफ्नो सचिवालयको फेसबुकमार्फत लेखेका छन्, ‘न उहाँ (उपेन्द्र)को यहाँ घर छ, न उहाँ यहाँको जनप्रतिनिधि। अनि किन उपकुलपति र रजिस्ट्रारलाई जबर्जस्ती दबाब दिएर प्रमुख अतिथि बन्नुपर्ने? अतिथि बन्न पनि यति मरिहत्ते हुन्छ? यस्तो नीचस्तरको राजनीति हुन्छ? मान न मान मैँ तेरा मेहमान?’


यता मधेश प्रदेश सरकारका शिक्षामन्त्री महेशप्रसाद यादवले सोमबार हुने भनिएको मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम स्थगित गर्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएका छन्।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नभई विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार हुने चेतावनी दिएका छन्। 


‘सहकुलपति तथा विश्वविद्यालयको सभा (सिनेट)को अध्यक्ष म आफैँ हुँदा विश्वविद्यालयमा हुने कार्यक्रमको विषयमा केही जानकारी नपाउनु दुर्भाग्य हो। भोलिका लागि निर्धारित कार्यक्रम विश्वविद्यालयले सिनेटको अध्यक्षको सहमतिबेगर गर्नु विवाद निमत्याउनु हो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘तसर्थ, सो कार्यक्रम स्थगित गर्न विश्वविद्यालयको प्रशासनिक विभागलाई निर्देशन दिएको व्यहोरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ। कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी र रजिस्ट्रार हुने जानकारीसमेत गराउन चाहन्छु।’ 

राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताले सातबुँदे माग राख्दै आइतबार तालाबन्दी गरेका छन्।
सप्तरीको राजविराज नगरपालिका–१३ स्थित विश्वविद्यालयको शिलान्यास कार्यक्रम तय गरिएको छ। शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतका कार्यकर्ता विरोधमा उत्रिएका हुन्। अाज बिहानैदेखि कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति: २०२४-०१-२२ , समय : ०७:१५:१० , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित