मधेस प्रदेश : सरस्वतीको मूर्ति सेलाउने विषयमा हिन्दु र मुस्लिम समुदायबिच झडप, अनिश्चितकालीन कर्फ्यू

मिति: २०२४-०२-१७ , समय : २०:४४:२९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको रौतहटको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएको छ । झडपमा एकजना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले आज साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ । सो स्थानमा अहिले बाक्लो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

एसपी श्रेष्ठका अनुसार घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए । शनिबार स्थानीय प्रशासनको रोहबरमा दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो ।

सरस्तीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको एसपी श्रेष्ठले बताए ।

स्मरण रहाेस, यस गाउँमा पछिल्लो ५ बर्ष देखि मूर्ति सेलाउने बिषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।

प्रकाशित मिति: २०२४-०२-१७ , समय : २०:४४:२९ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित