सप्तरीको सप्तकोशीका ४१ वटा ढोका खोलिए : नारायणी नदीमा १६ वर्षयताकै धेरै पानी
मिति: २०२४-०७-०७ , समय : ०८:०४:१५ , गामघर डेस्क
मिति: २०२४-०७-०७ , समय : ०८:०४:१५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्यूसेक पानी मापन गरिएको छ ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।
सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । यस्तै नारायणी नदीमा १६ वर्षयताकै सबैभन्दा धेरै पानी बगेको छ । आज बिहान ६ बजे चार लाख ३६ हजार क्युसेक पानीको बहाव मापन भएको छ । २०६५ साल (सन् २००८) मा नारायणी नदीमा चार लाख २९ हजार क्युसेक पानी बगेको थियो ।
त्यसबेला नारायणीको बाढीले त्रिवेणीको ठठिया खोलानजिक बांध बगाएर गाउँमा पसेको थियो । नदीमा भइरहेको उच्च बहाव जोखिमपूर्ण अवस्थामा पुगेपछि त्रिवेणी ब्यारेजको सबै ३६ वटा ढोका खाेलेर पानी बगाइएको छ ।
यस वर्ष मनसुन शुरू भएपछि नारायणी नदीमा पहिलो पटक पानीको बहाव चार लाख क्युसेक नाघेको हो । हिजो दिउँसो १२ बजे एक लाख ६१ हजार क्युसेक र दिउँसो २ बजे दुई लाख १८ हजार क्युसेक पुगेको थियो । बाढीका कारण नारायणी नदीको तल्लो तटीय क्षेत्र जोखिममा छ । सुस्ता गाउँपालिकाको वडा–३, ४ र ५ का स्थानीय बासिन्दा धेरै जोखिममा छन् ।
प्रकाशित मिति: २०२४-०७-०७ , समय : ०८:०४:१५ , 12 months अगाडि