बाढीपहिरोमा परी दुई बालबालिकासहित तीनजनाको मृत्यु

मिति: २०२४-०७-०९ , समय : १८:५८:१७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

उदयपुर ।
अविरल वर्षाका कारण उदयपुरमा दुई बालबालिकासहित तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रौतामाई गाउँपालिकामा एक बालक, त्रियुगा नगरपालिकामा एक बालिका र बेलका नगरपालिका एकजना गरी तीनजनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईंका अनुसार आज मंगलबार त्रियुगा नगरपालिका– १५ तोरीबारीमा पहिरोले पुरिएर हिरामाया मगरकी आठ वर्षीया छोरी रूपकला मगरको मृत्यु भएको छ भने आमा हिरामाया घाइते भएकी छिन्।

घाइते हिरामायाको अहिले जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको र पहिरोले घर पूर्ण रूपमा क्षति भएको डिएसपी चापागाईंले जानकारी दिए। उनका अनुसार गत शनिबार रौतामाई गाउँपालिका– ५ आँपटारमा रहेको अमृत खोलाले सोही स्थानका नरेन्द्र राईका पाँच वर्षीय छोरालाई बगाउँदा मृत्यु भएको थियो।

यता बेलका नगरपालिका– ३ सातपत्रेमा रहेको गिदेरी खोलाले बगाउँदा सोही स्थानका ५० वर्षीय इन्द्र बुढाथोकीको मृत्यु भएको छ। डिएसपी चापागाईंले भने, ‘बाढीपहिरोको कारण जिल्लामा झन्डै एक दर्जन घरहरूमा क्षति पुगेको विवरण प्राप्त भएको छ।’ नयाँ पत्रिका

प्रकाशित मिति: २०२४-०७-०९ , समय : १८:५८:१७ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित