वर्षाले काठमाडौंकाे प्रदूषण घट्यो : मधेस प्रदेश सहित देशका विभिन्न ठाउँमा मेघगर्जनसहित वर्षा

मिति: २०२५-०४-१० , समय : ०८:३१:५० , गामघर डेस्क

तस्बिर : शुभ नारायण यादब / गामघर टिभि

गामघर डेस्क

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । आज बिहानैदेखि काठमाण्डौ, भक्तपुर र ललितपुरमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भएको हो ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको छ । केही समय रोकिए पनि आज र भोलि दिनभर बादल लाग्ने र वर्षा हुने तथा रोकिने क्रम चलिरहने रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेशलगायत देशको पहाडी भू–भागका केही ठाउँमा तथा देशका बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।

लामो समयपछि हावाहुरी र वर्षा भएसँगै काठमाण्डौ उपत्यकाको प्रदूषण घट्न थालेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सकाे तथ्याङ्कअनुसार अहिले काठमाण्डौको वायु प्रदूषण एक सय ५२ एक्यूआई रहेको छ ।

आज बिहान १९० भन्दा माथि रहेर विश्वको प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाण्डौ वर्षा भएसँगै अहिले १०औं स्थानमा झरेको छ ।

वर्षा भएपछि देशका विभिन्न ठाउँमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

पर्सि शनिवारसम्मै मौसम बदली हुने भएकाले राम्रोसँग आकाश खुल्न र घाम लाग्न केही दिन लाग्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति: २०२५-०४-१० , समय : ०८:३१:५० , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित