योजनाको चिठ्ठीका लागि एक सातादेखि जनमत पार्टीद्वारा सामाजिक विकास इकाईमा तालाबन्दी

मिति: २०२५-०४-१७ , समय : ०९:४४:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव आफैंले ताला लगाइदिएपछि सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाई कार्यालय पछिल्लो एक सातादेखि बन्द रहेको छ ।

कार्यकर्ताहरुसहित पूर्वमन्त्री यादवले गत शुक्रबार इकाई कार्यालयमा तालाबन्दी गरेको कार्यालय प्रमुख सुशिलकुमार झाले बताए । झा सप्तरी र सर्लाही दुईवटा जिल्लाको सामाजिक विकास इकाई कार्यालयको प्रमुख छन् ।

सामाजिक विकास इकाई कार्यालय मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत पर्छ । सरकारका विकास योजनाहरु यो कार्यालयमार्फत सञ्चालन हुँदै आएका छन् ।

‘केही दिनदेखि पूर्वमन्त्रीजीका कार्यकर्ताहरु योजनाको सूची बनाएर उपभोक्ता समिति गठनबारेको चिठी माग्न आए,’ इकाई प्रमुख झाले भने, ‘चिठी सिधा वडा कार्यालयमा जाने बताइएपछि पूर्वमन्त्रीजी आफैं आएर कार्यालयमा ताला लगाउनुभयो ।’

प्रदेश सरकारबाट आएका योजनाहरुको उपभोक्ता समिति बनाउने बारेको पत्र आफूहरु सिधा वडा कार्यालयमा पठाउने गरेको इकाई प्रमुख झाको दाबी छ । ‘हामीले कुनै व्यक्तिलाई चिठी दिन मिल्दैन्’, उनले भने, ‘मन्त्रीजीका कार्यकर्ता चिठी माग्न आएका थिए, हामीले व्यक्तिलाई दिन नमिल्ने भन्दै वडामा पडाउने भनेपछि ताला लगाइयो ।’

जनमत पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री महेशप्रसाद यादव आफूले ताला लगाएको स्वीकार्छन् । उनले भने, ‘योजनाका चिठीहरु कर्यालय प्रमुखले वडा कार्यालयमा नपठाएर पछिल्लो एक महिनादेखि बाटोमै घुमाउदै छन्, कुरा गर्न जाँदा भेटिँदैनन्, चिठी अनधिकृत व्यक्तिलाई दिने तर हामीजस्ता प्रदेश सभा सदस्यलाई बदनाम गराउने कार्य भएपछि ताला लगाएको हुँ ।’

‘चिठी वडा कार्यालयमा नगइरहेको विषयमा पटक–पटक भेटन जाँदा कार्यालय प्रमुख झा कुरा गर्न चाहेनन्’, उनी थप्छन्, ‘प्रमुख जिल्ला अधिकारीलाई पनि बोलाउँदा नआएपछि बाध्य भएर ताला लगाएको हुँ ।’

सरकारी कार्यालयमा ताला लगाइदिएपछि पूर्वमन्त्री यादवले चाबी प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाउन खोजेका थिए । तर सरकारी कार्यालय बन्द गरेर साँचो बुझ्नुपर्ने काम आफ्नो नभएको बताउँदै प्रजिअ दाहालले अस्वीकार गरेपछि यादवले कार्यालयमा लगाएको तालाको साँचो आफैं लिएर गएका छन् ।

कार्यालयमा प्रदेश सभा सदस्यले नै ताला लगाउँदा ६ दिनदेखि कार्यालय बन्द छ । कार्यालय बन्द हुँदा योजनाका चिठीहरु वडा कार्यालयमा पठाउन रोकिएको छ भने कार्यालयको कामसमेत ठप्प छ ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सरकारी कार्यालयमा ताला लगाउनु कानुनसम्मत कार्य नभएको बताउँदै यस विषयमा छलफल भइरहेको बताए । मधेश टुडेबाट

प्रकाशित मिति: २०२५-०४-१७ , समय : ०९:४४:२७ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित