राजेश अहिराजमाथि यौन दुव्र्यवहारको आरोप : मधेस प्रदेशका पूर्व प्रमुख समेत रहेका अहिराज फरार
मिति: २०२५-०४-१८ , समय : १०:४७:५८ , गामघर डेस्क
मिति: २०२५-०४-१८ , समय : १०:४७:५८ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौँ । अदालतले पक्राउ अनुमति दिएसँगै मधेस प्रदेशका पूर्व प्रमुख राजेश (झा) अहिराज फरार छन् । पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराज झाविरुद्ध जबर्जस्ती करणी (बलात्कार) मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएकोमा अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो। अहिराज फरार भइसकेका छन्।
फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएकोछ । उनीविरुद्ध युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । २३ वर्षीया युवतीले उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ । पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनले भने, ‘जबरजस्ती करणीको जाहेरी दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।’
माघ २ मा महिला बालबालिका सेवा केन्द्रमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । यसअघि कालीमाटीमा रहेको महिला बालबालिका सेवा केन्द्रको कार्यालय अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरकै कार्यालयमा अवस्थित छ । झा २०७७ फागुन ७ मा मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए । उनी तत्कालीन उपराष्ट्रपति परमानन्द झाको स्वकीय सचिव भएका थिए। त्यसवेला पनि उनी राज्यविरुद्धको अपराध मुद्दामा पक्राउ परेका थिए। आफ्नो पत्रिकामा तराईको सशस्त्र समूहको सैन्य भर्नाको विज्ञापन निकालेको कसुरमा त्यसवेला पक्राउ परेका थिए।
प्रकाशित मिति: २०२५-०४-१८ , समय : १०:४७:५८ , 1 week अगाडि