२६ दिनदेखि आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप : केही शिक्षक शिक्षिका घाइते
मिति: २०२५-०४-२७ , समय : १४:२१:२५ , गामघर डेस्क
मिति: २०२५-०४-२७ , समय : १४:२१:२५ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । २६ दिनदेखि काठमाण्डौको माइतीघर–बबरमहल सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।
शिक्षकहरूले हिजो पनि निषेधित क्षेत्र तोड्न खोजेका थिए । तर प्रहरीले रोकेपछि धेरै जबरजस्ती गरेका थिएनन् । तर आज शिक्षकहरूले जबरजस्ती गरेपछि झडप भएको हो । शिक्षकहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा पनि हानेको छ । प्रहरीमाथि शिक्षकहरूले ढुङ्गामुढासमेत गरेका छन् । यस्तै केही प्रहरीकाे लाठी चार्जबाट केही शिक्षकहरू घाइते भएका छन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गएको चैत २० गतेदेखि काठमाण्डाै केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा विधेयक भने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलकै क्रममा छ । समितिले विवादित विषयमा सहमति जुटाउन उपसमिति बनाएर छलफल गरिरहेको छ ।
यसैबीच प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासङ्घले आकस्मिक बैठक आह्वान गरेको छ । अहिले ३ बजेका लागि बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: २०२५-०४-२७ , समय : १४:२१:२५ , 9 hours अगाडि